हिमपातले पर्यटकीय क्षेत्रका सडक अबरुद्ध

0
Shares

पुष्कर बुढाथोकी, भक्तपुर । भक्तपुरको नगरकोट, चाँगुनारायण, दधिकोट, कटुन्जे, सुडाल, ताथली, चित्तपोल, नंखेल, सिपाडोल, नलिन्चोक, गुण्डु, रानीकोट, घ्याम्पेडाँडा लगायतका क्षेत्रमा हिमपात भएको छ । स्थानीयका अनुसार, शहरी क्षेत्रमा २०६३ फागुन २ गतेपछि पहिलो पटक हिमपात भएको हो ।

उपत्यकाका काठमाडौँ र ललितपुरमा समेत हिमपात भएको छ । हिमपातका कारण नगरकोट, सुडाल, रानीकोटलगायतका जिल्लाका पर्यटकीय क्षेत्रमा बिहान यातायात अवरुद्ध भएको थियो ।

हिमपातले भक्तपुर हँुदै नगरकोट जाने यातायात सेवा बिहानैदेखि अवरुद्ध भएको थियो । माथिल्लो सुडालका सञ्चारकर्मी कृष्ण नेपालका अनुसार, नगरकोट क्षेत्रमा रातीदेखिनै बाक्लो हिमपात भएको थियो ।

हिमपातपछि पर्यटकीय क्षेत्र नगरकोटलगायतका क्षेत्रमा आन्तरिक पर्यटक हिउँ खेल्न आउनेहरु यातायातका साधन जान नसकदा हिडेर जान बाध्य भएका छन् ।

नगरकोटका होटल व्यवसायी गोकुल लामिछानेका अनुसार, हिउ बाक्लै परेका कारण दिनभर पर्यटक आउँने सम्भावना बढेको छ । आज सार्वजनिक विदा भएका कारण पनि युवा युवती विहानैदेखि हिउँमा रमाउँन नगरकोट पुग्न थालेको लामिछानेले बताउनु भयो ।

भक्तपुर शहरमा १२ वर्षपछि हिमपात भएको छ । भक्तपुरलगायत काठमाडौँ उपत्यकामा आज बिहानै हिमपात भएको हो । हिमपात हँुदा जनजीवन प्रभावित भएको छ ।

भक्तपुर, मध्यपुरथिमि, चाँगुनारायण र सूर्यविनायक नगरपालिकाका शहरी क्षेत्रमा समेत हिमपात भएको छ ।

हिमपातपछि पर्यटकीय क्षेत्र नगरकोटलगायतका क्षेत्रमा आन्तरिक पर्यटक हिउँ खेल्न आउने क्रम भने बढेको र दिनभर पर्यटकको ओइरो लाग्ने अपेक्षा गरिएको होटल व्यवसायी गोकुल लामिछानेले बताउनुभयो । शहरी क्षेत्रमा लामो समयपछि हिउँ परेकाले स्थानीय भने बिहानै हिउँमा रमाएका छन् ।