प्युठानमा टेलिफोन सेवा अवरुद्ध

0
Shares

प्युठान ।
उत्तरी प्युठानको गौमुखी गाउँपालिका र यश आसपासका क्षेत्रमा टेलिफोन सेवा अवरुद्ध हुँदा सेवाग्राहीले सास्ती भोग्नुपरेको छ । चट्याङका कारण टावरमा आएको खराबीसँगै सेवा अवरुद्ध भएको बताइएको छ । जिल्लाको दुर्गम क्षेत्र गौमुखी गाउँपालिका–३ रजवारामा रहेको बिटिएस टावरमा आएको समस्याका कारण यी क्षेत्रमा मोबाइल सेवा अवरुद्ध भएको हो ।

सो टावरमा आएको समस्यासँगै दुई हप्तादेखि यहाका स्थानीय सञ्चार सेवाबाट वञ्चित भएका हुन् ।
गत फागुन ४ गते चट्याङले क्षति पुर्याएको बिटिएस टावर अझै बन्न सकेको छैन । सञ्चारमा समस्या आएसँगै गाउँपालिकाको कामकाजमा समेत समस्या भएको गाउँपालिकाका अध्यक्ष विष्णुकुमार गिरीले जानकारी दिए ।

’सेवा अवरुद्ध भएपछि यस क्षेत्रका सयौँ उपभोक्ता सञ्चार सुविधाबाट वञ्चित छन् ।’ उनले भने।
चट्याङले टावरमा क्षति पुर्याएकाले अझै करीब दुई हप्ता मर्मतसुधार गर्न लाग्ने दूरसञ्चार कार्यालयका प्रमुख कृष्ण श्रेष्ठले बताए । घटना पछि नेपालगञ्जस्थित दूरसञ्चार कार्यालयबाट प्राविधिकसहितको टोलीले स्थलगत अवलोकन गरी क्षतिको विवरण सङ्कलन गरेकोे र टावरका उपकरण मर्मत भइरहेको उनले जनाए ।

दुई साता देखि टेलिफोन सेवा अवरुद्ध हुँदा स्थानीयवासीका साथै वैदेशिक रोजगारीमा गएकाहरु आफन्तजन र घरपरिवारसँग समेत सम्पर्क टुटेको छ ।