प्युठानमा हिमपातका कारण जनजीवन प्रभावित

14
Shares

प्युठान ।
प्युठानको माथिल्लो क्षेत्रमा बुधबार रातभरको वर्षासँगै हिमपात भएको छ । वर्षा र हिमपातका कारण यहाँको जनजीवन प्रभावित भएको हो । उत्तरी प्युठानको माथिल्लो क्षेत्रमा यस वर्ष पुनः दोस्रोपटक हिमपात भएपछि हिउँदेबाली र जनजीवनमा प्रतिकूल असर परेको छ । रातभरको असिना पानी र हिमपातले हिउँदे बालीमा बढी क्षति पुगेको छ भने मानिस र पशु चौपाया जाडोका कारण कठ्याङ्ग्रिएर बस्न बाध्य भएका छन् ।

मंलबार साँझ सम्म मौसम सफा भएपनि रातिदेखि ग्रामीण क्षेत्रमा हावाहुरीसँगै वर्षा र हिमपात शुरु भएको हो । उत्तरी प्युठानका नौ बहिनी र गौमुखी गाउँपालिकाका पुजा, खुङ्ग, अर्खा, नारीकोट, रजवारा, लिवाङ, खबङ्ग, डाम्री, लिघा, फोप्ली, स्याउलीवाङ, मझकोट लगायत आसपासका स्थानहरूमा गए राति भारी हिमपात भएको छ ।

डाँडाकाँडामा यसअघी हिउँ परेपनि मानवबस्तीसम्म हिमपात भएको थिएन । यसपालि गाउँ बस्तीसम्म नै हिउँ र असिना पर्दा कृषकले लगाएको अन्नबाली तथा तरकारीबालीमा निकै ठुलो क्षति भएको स्थानीयहरूले गुनासो गरेका छन् । बारीमा लगाएको गहुँ, जहुँ, तोरी, केराउ, गोभी, प्याज, टमाटरको हिउँले क्षति पुर्याएको छ ।

चिसोले केटाकेटी एवम् बृद्धबृद्धालाई घर बाहिर निस्कनै नसक्ने अवस्था छ । पशु चौपायालाई पनि हिमपातले अफ्ठ्यारो बनाएको स्थानीय जायश्वर जैशीले बताए ।