खोटाङको तल्लो भेगसम्म हिमपात, हिउँमा रमाउनेको भीड

0
Shares

रामधन राई, खोटाङ ।
खोटाङको पर्यटकीय स्थल रुपाकोटको तल्लो क्षेत्रसम्म भारी हिउँ परेपछि हिउँ खेल्ने स्थानीयको भीड लागेको छ । बिहिबार बिहानको वर्षासँगै हिउँ परे लगत्तै जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजार र सो आसपासका स्थानीय हिउँ खेल्न रुपाकोट क्षेत्र पुगेका हुन् । करिव ३३ वर्ष अघि मात्र हिउँ परेको सो क्षेत्रमा वाक्लो हिउँ परेपछि हेर्ने र खेल्नका लागि बस, जीप र मोटरसाईकल प्रयोग गरेर स्थानीय सो क्षेत्र पुगेका थिए । कतिपय स्थानीय भने पैदल हिँडेर हिउँ परेको डाँडामा पुगेका थिए ।

डाँडापाखा, चौंर, जंगल, बारी ढाकेको हिउँमा स्थानीय रमाईलो मान्दै डुलघुम गरेका छन् । सेताम्मे हिउँले ढाकेको रुपाकोट क्षेत्रमा पुगेका स्थानीय आपसमा हिउँले हानाहान गर्दै रमाईलो गरेका छन् । सार्वजनिक बिदा भएका कारण विद्यार्थी, शिक्षक तथा कर्मचारीको समेत मुढेमा भीड देखिएको थियो । जिल्लामा हत्तपत्त हिउँ नपर्ने भएकाले स्थानीय मौका छोपेर हिउँ खेल्न डाँडामा पुगेका हुन् ।

२०४२ सालपछि एकैचोटी गत माघ १५ गते साँझ हिउँ परेको रुपाकोट क्षेत्रमा बिहिबार बिहान पुनः हिउँ परेको हो । बाक्लो हिउँ पर्दा रुपाकोट, मुढे, हुर्लुङ, चखेवा भञ्ज्याङ, टेम्के, स्याल्मे, छितापोखरी, मुलडाँडा, चुम्लुङ, रोक्सिङभञ्ज्याङ, ऐसेलुखर्क लगायतका माथिल्लो क्षेत्र सेताम्मे भएका छन् । रुखो र नाङ्गो डाँडा अहिले हिमालजस्तै देखिएको छ । हिउँ पर्दा आलु, गहुँ लगायतका बाली नाली सप्रिने आशामा किसान उत्साहित छन् ।

जिल्लाका वालवालिकाले पहिलो पटक प्रत्यक्ष हिउँ हेर्ने र खेल्ने मौका पाएको अभिभावकहरुले वताएका छन् ।