राप्रपाको स्वाभिमान यात्रा झापाबाट पश्चिम लाग्यो

0
Shares

भद्रपुर ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको मेची महाकाली स्वाभिमान राष्ट्रिय अभियान यात्राइ झापामा भब्य स्वागत गरिएको छ । झापा आइपुग्दा विभिन्न जातिका झाँकीले अभियानमा सहभागी राप्रपाका नेता तथा कार्यकर्तालाई स्वागत गरिएको थियो ।

विहीबार राप्रपाले झापाको विर्तामोडमा आयोजना गरेको कार्यक्रममा राप्रपाको अभियान कुनै पार्टी विरुद्ध नभएको पार्टीका अध्यक्ष कमल थापाले बताए । नेपालको पहिचान हिन्दू राष्ट्र तथा राज संस्थालाई पाखा लगाएकाले ती पहिचानलाई पूर्नस्थापना गराउनका लागि अभियान चलाइएको थापाले जनाए । देशमा सुशासन कायम गराउनका लागि आयोजना गरिएको अभियान हो उनले भने ।

हामी देश र भगवानको गीत गाउँदै हिँडेको उनले बताए । उनले ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा पर्यटन मन्त्री रविन्द्र अधिकारीसहितको निधन भएकोमा गहिरो दुःख व्यक्त गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपाका महामन्त्री राजेन्द्र लिङदेनले वि.सं.२०४६ सालपछिका राजनीतिक दलका नेताका सम्पत्ति छानविन हुनुपर्ने माग राखे । साना कर्मचारीलाई मात्र कारबाही गरे जस्तो गरेर भ्रष्टाचार नियन्त्रण नहुने उनले बताए । जातको आधारमा आरक्षणको विरोध गर्दै उनले गरिबीको रेखामुनीका सबै जनताले आरक्षण पाउनुपर्ने लिङ्देनले बताए ।

देश भूगोलले मात्र नबन्ने भन्दै हिन्दू राष्ट्र र राजतन्त्रले नेपालको पहिचान दिने उनको भनाइ थियो । पार्टीका वरिष्ठ नेता दिपक बोहोराले राप्रपाले उठाएका माग सबै नेपालीको माग रहेको दाबी गरे । कार्यक्रममा नेताहरु टंक ढकाल, राजिव पराजुली तथा बुद्धिमान तामाङले बोलेका थिए । ताप्लेजुङस्थित पाथिभरा मन्दिरमा पूजा गरि शुरु भएको अभियान झापाबाट पश्चिम लागेको छ ।