१२ वर्षपछि हिमपात, त्रिभुवन राजपथ अवरुद्ध

0
Shares

हेटौंडा ।
मकवानपुरका उत्तरी क्षेत्रको विभिन्न स्थानमा बुधबार रातिदेखि परेको वर्षाका कारण भारी हिमपात भएको छ । लगातारको वर्षाका कारण उत्तरी मकवानपुरको थाहा नगरपालिकासहित छिमेकी भीमफेदी गाउँपालिका र इन्द्रसरोवर गाउँपालिकाका विभिन्न स्थानमा हिउँ परेको हो ।
थाहा नगरपालिकाको दामन, पालुङ, सीमभञ्ज्याङलगायत बस्ती तथा डाँडा हिउँले सेताम्मे भएको छ । रातभर परेको पानी र असिनासँगै भएको हिमपातले बस्ती तथा डाँडा सेताम्मे भएको हो । उत्तरी मकवानपुरको उच्च भूभागमा प्रत्येक वर्ष हिमपात हुने गरे पनि यस पटक भने बस्तीहरुमा समेत हिमपात भएको हो ।
दामन सीमभञ्ज्याङमा एक महिनाअघि पनि हिउँ परेको थियो । तर शिखरकोट, पालुङ, चित्लाङकोमा हिउँ परेका थिएन । थाहानगरको तल्लो भागमा समेत एक फिट भन्दा बढी हिउँ परेको छ भने दामन सीमभञ्ज्याङमा तीन फिट बाक्लो हिउँ परेको स्थानीयले बताएका छन् ।
हिउँ परेकाले उत्तरी क्षेत्रमा सवारीसाधन चल्न सकेका छैनन् । थाहानगरको शिखरकोट, पालुङ र चित्लाङ क्षेत्रमा १२ वर्षपछि हिउँ परेको शिखरकोटका शुकदेव रायमाझीले बताउनुभयो । ‘२०६३ फागुन ४ गते यसरी नै हिउँ परेको थियो,’ रायमाझीले भन्नुभयो । हिउँका कारण उत्तरी क्षेत्रको जनजीवन कष्टकर बनेको छ ।
थाहानगरका विशेष गरी सीमभञ्ज्याङ, दामन, पालुङ र चित्लाङ क्षेत्रमा यस वर्षमात्र पाँचपटक हिमपात भएको हो । हिमपातका कारण उत्तरी मकवानपुरको जनजीवन पूर्णरुपमा प्रभावित भएको थाहानगर उद्योग वाणिज्य संघ महासचिव सुरेन्द्रमान प्रधानले बताउनुभयो ।
उहाँका अनुसार हिमपातका कारण त्रिभुवन राजपथ अवरुद्ध भएको छ । त्रिभुवन राजपथको अवरोध तत्काल हट्ने सम्भावना नरहेको उहाँले बताउनुभयो । उहाँका अनुसार विभिन्न स्थानमा दुई फिटभन्दा बढी हिउँ परेको छ । विशेषगरी अघोरदेखि पालुङसम्मको बाटोमा सवारी सञ्चालन गर्न नसकिने अवस्था छ ।

सबभन्दा बढी हिउँ सीमभज्याङस्थित मैत्री बगैंचामा परेको स्थानीय बिनोद लामाले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हिमपातका कारण त्रिभुवन राजपथ र भीमफेदी–फाखेल हँुदै काठमाडौं बाटो मार्ग बन्द रहेको र खोल्ने प्रयास भइरहेको छ ।
छोटो मार्ग भएर दैनिक एक हजार सवारी काठमाडौं आउजाउ गर्छन् । काठमाडौं आउजाउका लागि हेटौंडा–कुलेखानी–सिस्नेरीको बाटो प्रयोग भइरहेको छ । हेटौंडा उपमहानगरपालिकासँग सिमाना जोडिएका डाँडामा समेत हिमपातको दृष्य सजिलै देख्न सकिन्छ । हेटौंडा बजार क्षेत्रबाट गाडी रिजर्भ गरेर हिउँ खेल्न आन्तरिक पर्यटक त्यसतर्फ गइरहेका छन् ।
मकवानपुरगढी गाउँपालिकाको ५, ६ र ८ का आमभञ्ज्याङपारि हिमपात भएको स्थानीयले बताएका छन् । देउरालीलगायतका डाँडापाखामा बाक्लो हिउँ परेको छ । निरन्तर हिमपात भएसँगै जिल्ला भित्र र बहिरबाट हिउँ खेल्न पर्यटकको उक्त क्षेत्रमा जाने क्रम बढेको छ ।