चरिकोटमा १८ वर्षपछि हिमपात, यातायात अवरुद्ध

0
Shares

चिरञ्जीवी मास्के, दोलखा ।
दोलखा सदरमुकाम चरिकोटमा १८ बर्ष पछि विहिवार विहानै हिमपात भएको छ । लामो समय पछि भएको हिमपातका कारण अत्यधिक चिसोमा पनि चरिकोटका स्थानियले रमाईलो गरेका छन् ।

विहान ६ बजे देखि झण्डै २ घण्टा भएको हिमपातमा युवा युवतीहरुले निक्कै रमाईलो गरेका थिए । विशेषगरी चरिकोटमा हिउँ परेको नदेखेका नयाँ पुस्ताका युवायुवतीहरुले निक्कै रमाईलो गरेका छन् । १९७० मीटरको उँचाईमा रहेको चरिकोटमा २०५८ साल पछि विहिवार सेताम्य हुनेगरी हिमपात भएको हो । २०६३ सालमा पनि चरिकोटमा हिमपात भएको तर यतिधेरै सेताम्य हुनेगरी नभएको स्थानिय बताउछन् ।


विहानै देखि हिमपात भएपछि दोलखा र चरिकोटको सिमाना खरढिुङ्गामा यातायात अवरुद्ध भएको छ । काठमाडौँबाट चरिकोट आउने र चरिकोटबाट काठमाडौँ जाने सवारी साधन सिन्धुलिको खुर्कोट हुदै गएको दोलखाका निमित्त प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले बताए ।

कालिञ्चोकको जनजिवन प्रभावित
दोलखाको प्रसिद्ध कालिञ्चोक मन्दिर आसपास बुधवार विहानै देखि भारी हिमपात भएको छ । विहिवार विहानसम्म लगातार हिमपात भएपछि कालिञ्चोकको जनजिवन प्रभावित भएको छ । तीन फिट भन्दा बढी हिउँ जमेपछि यातायात अवरुद्ध भएको र पानीको समेत समस्या रहेको कालिञ्चोक कुरीका होटल व्यवसायी हरि ओलीले बताए । लगातारको हिमपातले कालिञ्चोकमा अत्यन्त थोरैमात्र पर्यटक पुग्न सकेको र उनीहरुलाई पनि चिसोका कारण समस्या भएको ओलीले बताए ।

हिमपातले प्रतिकुल मौसम भएपनि कालिञ्चोक पुगेका पर्यटकहरु हिउँमा खेलेर निक्कै रमाईलो गरिरहेको ओलीको भनाई छ । झण्डै चार हजारको उँचाईमा रहेको कालिञ्चोकमो पुष देखि फागुनसम्म पाँच पटक हिमपात भै सकेको स्थानियको भनाई छ ।