कर्णालीको हिउँदे अधिवेशनमा दुई विधेयक टेबुल

0
Shares

सुर्खेत ।
कर्णाली प्रदेशको हिउँदे अधिवेशनको पहिलो बैठकमा आज दुई वटा विधेयक टेबुल गरिएको छ ।

कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले ‘कर्णाली प्रदेश सार्वजनिक प्रसारणसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०७५ र सुशासनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०७५’ टेबुल गर्नुभएको हो । बैठकमा नेपाली काङ्ग्रेस प्रदेशसभा संसदीय दलका नेता जीवनबहादुर शाहीले सङ्घ प्रदेशलाई अधिकार नदिने ‘मुड’मा रहेको बताउनुभयो ।

नेता शाहीले सङ्घ प्रदेशलाई सजिलै अधिकार दिन सहमत नभएको जनाउनुभयो । यसका लागि हरेक प्रदेश सरकारहरुले सङ्घलाई मात्र नताकेर उपलब्ध साधनस्रोतको समुचित प्रयोग गर्दै आ–आफ्नो प्रदेशको विकास आफैँले गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । पार्टीभन्दा माथि उठेर तिब्र गतिका साथ काम गर्न प्रदेश सरकारलाई नेता शाहीले सुझाउनुभयो ।

बैठकमा नेकपाका नेता एवं प्रदेशसभा सदस्य यामलाल कँडेलले सङ्घीय सरकारभन्दा प्रदेश सरकार जनताका लागि नजीकको सरकार भएको बताउनुभयो । “यही नजीकको सरकारबाट जनताले उत्तर खोजिरहेका छन्,” उहाँले भन्नुभयो, “त्यसको सही सम्बोधन हुनुपर्दछ ।”

उपलब्धि प्राप्त गर्नेगरी बजेट कार्यान्वयन हुनुपर्ने भन्दै नेता कँडेलले भन्नुभयो, “कर्णालीको अनुहार बदल्नु हामी सबैको साझा जिम्मेवारी हो, एकाकार भएर अघि बढौँ ।” प्रदेशसभा सदस्य शोसीला शाहीले कर्णाली सरकारले एक वर्षको अवधिमा उपलब्धिमूलक काम गर्न नसकेको टिप्पणी गर्नुभयो । प्रदेशसभाको अर्को बैठक यही फागुन १८ गते शनिबार दिउँसो १ बजे बस्नेछ ।
रासस