सरोज यादव, विराटनगर
मोरङको जहदा गाउँपालिका भएर बग्ने सिंगियाखोलामा भारतीय नागरिकले कच्चीपुल बनाएर रकम असुल्दै आएको पाइएको छ । वर्षैभरि करिब चार फिट पानी बग्ने सो खोलामा सरकारीस्तरबाट पुल बनाउने प्रयास नभएकै कारण विगत विगत आठ वर्षदेखि भारतीय नागरिक जगमलाल रामले खोलामा बासँको कच्ची पुल बनाएर आउजाउ गर्नेसँग रकम लिदै आएका छन ।
छिमेकी भारतको बिहार प्रान्तको फूलकाही निबासी ७५ वर्षीय रामले सो खोलामा ३२ फिट लामो कच्ची पुल बनाएर स्थानीयबासीबाट रकम लिने गरेका हुन् । सो कच्ची पुल भएर दैनिक २ हजारको हाराहारीमा सर्वसाधारण आउजाउ गर्ने गरेको उनीहरू बताउँछन् । स्थानीयबासीले कच्ची पुल तरे वापत रामलाई वर्षेनि प्रति परिवार एक मनसम्म धान र गहुँ दिने गरेका छन् ।
जहदा–२ का सुनिल राजवंशीले निरन्तर आउजाउ गर्दा स्थानीयबासीले सधैं रकम तिर्नु परेको बताए । भारतीय नागरिक राम आफनाी श्रीमती अनपीदेवीसँगै ऐलानी जग्गामा घर बनाएर बसेका छन् । भारतीय नागरिक रामले कच्ची पुल ओहोर–दोहोर गर्ने मोटरसाइकलबाट १० र साइकल र पैदल यात्रीबाट ५ रूपैयाँ रकम असुल्ने गरेका छन् । वर्षमा एक पटक कच्ची पुल बनाउँदा खर्च भएको रकम असुल्ने गरेको रामले बताए ।
पुल बनाउँदा वर्षेनि सय घना बास लाग्ने गरेको उनले बताएका छन । साविक बुधनगर गाविसको धुनी टोल र भातिगंछको सीमाना हुँदै सो खोलमा पुल नबन्दा शुल्क तिरेर कच्ची पुलबाट ओहोर–दोहोर गर्न बाध्य भएको स्थानीयबासको गुनासो छ । वर्षाको समयमा असार महिनादेखि आउजाउ गर्नेलाई ढुंगाबाट वारीपारी ओहोर–दोहोर गराउने गरेको उनले बताए । उनका अनुसार हरेक वर्षको असोज महिनामा एक पटक कच्ची पुल बनाउने गरिएको छ ।
एक त सो स्थानमा पक्की पुल छैन भने विद्युत सेवा समेत पुगेको छैन । स्थानीयबासी दिपेशककुमार चौधरीले विद्युतको व्यवस्था नभएकाले रातको समयमा सो पुलबाट ओहोर–दोहोर गर्दा सर्वसाधारण लडेर गम्भीर घाइतेसमेत भएको बताए । अर्का स्थानीयबासी चन्दन गिरीले खोला पारीको खेतमा उत्पादिन अन्न लानसमेत समस्या भइरहेको गुनासो गरे । कच्ची पुलबाट भारी बोकेर जाँदा जोखिम भएकाले दुई घण्टाको अर्को बाटो प्रयोग गर्नु परिरहेको उनले बताए ।
यता जहदा गाउँपालिका–२ का वडा अध्यक्ष राजेश श्रेष्ठले एक दर्जन बस्तीका बासिन्दाले प्रमुख मार्गका रूपमा सो पुल प्रयोग गर्ने गरेको बताए । हाल सो सडक केन्द्रीय सडकअन्तर्गत परेकाले पुल बनाउन नसकेको उनले बताए । पूरै गाउँपालिकाका बासिन्दाका साथै पूर्वी भारतीय सीमावर्ती क्षेत्रका सुन्दरी मठ र डुम्रहासम्मका बासिन्दालाई समस्या भएको उनले बताए । सो क्षेत्रका बासिन्दाको प्रमुख बजार भारतीय सीमावर्ती बजार जोगवनी भएकाले दैनिक आउजाउमै समस्या भइरहेको उनले बताए ।
पुल नबन्दा बुधनगर, भातिगछ, हरिनगरा, धुनीसहित जहदा गाउँपालिकाका सात वडामध्ये १, २, ३, ५ र ७ वडाको ग्रामीण क्षेत्रका नागरिक प्रत्यक्षरूपमा प्रभावित भएका छन् । खोलामा पानीको सतह बढेपछि बर्खाभरि सर्वसाधारण दुई घण्टा लामो वैकल्पिक बाटो आउजाउ गर्न बाध्य भएका छन् ।











प्रतिक्रिया