थुतेन लामा, मनाङ
हिमाली जिल्ला मनाङमा फागुन १ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु भए पनि पाठ्यपुस्तक आइपुगेको छैन । विद्यार्थीहरू हिउँमा चिप्लँदै विद्यालय आउन थाले पनि नयाँ पाठ्यपुस्तकबिनै पढ्न बाध्य रहेको शिक्षकले बताएका छन् ।
विद्यार्र्थी भर्ना अभियान सुरु भइसके पनि पाठ्यपुस्तक कहिले आउने भनेर टुंगो लागिसकेको छैन । चामे गाउँपालिका–१ तिमाङस्थित गौरीशंकर आधारभूत विद्यालयका प्रधानाध्यापक कमलजंग गुरुङले भने– ‘विद्यार्र्थी भर्ना हुन आइसके, पाठ्यपुस्तक ल्याउने पसलसँग सम्पर्क गरेको छु ।’
‘ल्याउँछु–ल्याउँछु भन्छन्, ल्याएका छैनन्’ –प्रकाशज्योति माविका प्रधानाध्यापक पद्मराज पन्थीले भने । विद्यार्र्थी आउने क्रम जारी रहे पनि पाठ्यपुस्तक भने नआएको उनको भनाइ थियो ।
नासों गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख शिवप्रसाद ढुंगानाले बिल भरपाईका आधारमा गाउँपालिकाले विद्यालयलाई रकम उपलब्ध गराउने उल्लेख गर्दै पाठ्यपुस्तक भने आइनसकेको बताए ।
चारवटा गाउँपालिका रहेको मनाङमा मनाङ ङिस्याङ र नार्पाभूमिका विद्यालयमा पठनपाठन सुरु भएको छैन । चामे गाउँपालिकाका ४ र नासों गाउँपालिकाका ११ गरी १५ विद्यालयमा पठनपाठन सुरु भइसकेको छ । जिल्लाको ४ गाउँपालिकामा जम्मा २८ वटा विद्यालय रहेका छन् । १५ वटा विद्यालयबाहेकका अन्यमा फागुन १६ बाट पठनपाठन सुरु हुने अन्नपूर्ण माविका प्रधानाध्यापक आन्नदराज घिमिरेले बताए । फागुन १३ सम्म हिमपात हुनाले पाठ्यपुस्तक समयमा पुराउन नसकिने उनको भनाइ थियो ।
शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख खुलानाथ गौतमले पठनपाठन सुरु भइसकेको स्कुलमा छिटो पुस्तक ल्याउन भोटेओडारस्थित सापकोटा स्टेशनरीलाई ताकेता गरिरहेको बताए । ‘आफूलाई चाहिने डाटा पुस्तक पसललाई टिपाउन सबै स्कुललाई भनिसकेको छु । कति भर्ना हुन्छन् भनेर यकिन नभएर पनि हेडसरहरूले डाटा नटिपाएको हुन सक्छ’ –उनले भने ।
पुस्तक पसलले मनाङमा दुईपटक पु¥याउन गाह्रो हुने भएकाले एकैपटक लैजाने र सबै भेगमा पुर्याउने भन्दै आएको उनले बताए ।
चामेस्थित लोकप्रिय माविले अन्य जिल्लासरह वैशाखबाट शैक्षिकसत्र थालेको छ । चैतमा परीक्षा लिने र वैशाखबाट नयाँ शैक्षिक सत्र सञ्चालन गरिने विद्यालयका प्रधानाध्यापक सुरेश थापाले बताए । ‘हामीले अन्य जिल्लासरह शैक्षिक सत्र चलाउन थालेका छौं । सबै स्कुलमा फागुनबाट शैक्षिक सत्र सुरु भए पनि हाम्रोमा वैशाखबाट हुन्छ’ –उनले भने । आवासीय व्यवस्थापनबाट स्कुल चलाउन थालेपछि शैक्षिकसत्र, पठनपाठन व्यवस्थापन फेरिएको उनले बताए ।
‘चामे र नासोंका विद्यालयका लागि प्याक गरेर राखेको छु । माघ २० गते नै पोखराबाट पाठ्यपुस्तक आएको हो’ सापकोटाले भने । कक्षा १० को अर्थशास्त्र र अतिरिक्त गणित विषयको पाठ्यक्रम परिमार्जन भएर आउने भएकाले पनि समस्या भएको उनले बताए ।











प्रतिक्रिया