चिनियाँ परियोजनाबारे अमेरिकी चासो

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं । चीनले अघि बढाएको बेल्ट एन्ड रोड इनिसिएटिभबारे अमेरिकाले चासो दिदै सो परियोजनाबाट नेपालले लाभ लिनुपर्ने बताएको छ । नेपालमा हुने चिनियाँ लगानी पारदर्शी हुनुपर्ने सो मुलुकको तर्क छ ।

नेपाल भ्रमणमा रहनु भएका दक्षिण तथा दक्षिणपूर्वी एसिया मामिला सम्बन्धी अमेरिकी सहायक रक्षामन्त्री जोसेफ फेल्टरले यस्तो चासो लिनु भएको हो । आफ्नो नेपाल भ्रमणबारे सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै फेल्टरले भन्नुभयो–‘नेपालले आफ्ना छिमेकी चीनसँग राम्रो सम्बन्ध राखोस् भन्ने अमेरिकी चाहना हो तर नेपालमा हुने चिनियाँ लगानी पारदर्शी हुनुपर्छ ।’

चीनले आफ्नो हित अनुकूलका परियोजना मात्रै अघि सार्न नहुने उहाँको तर्क थियो । आफ्नो मुलुकले नेपाललाई भारतीय आँखाबाट हेर्छ भन्ने मान्यता सत्य नभएको मन्त्री फेल्टरले बताउनुभयो । गत महिना भेनेजुयला प्रकरणमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको विवादास्पद टिप्पणीपछि सो मुलुकका तर्फबाट नेपालमा भएको यो पहिलो उच्चस्तरिय भ्रमण हो ।

यससँगै अमेरिकाले नेपालको आर्थिक एवं पूर्वाधार विकासमा उपलब्ध गराउँदै आएको सहयोगलाई निरन्तरता दिने बताएको छ । उप–प्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलसँगको भेटवार्तामा मन्त्री फेल्टरले सरकारले अघि सारेको समृद्धिको अभियानमा सहयोग गर्न आफ्नो मुलुक तत्पर रहेको बताउनु भएको हो ।

मन्त्री पोखरेल र फेल्टर वीच नेपालका सुरक्षा निकायलाई सुदृढ र व्यवस्थित बनाउने बारेमा पनि छलफल भएको रक्षा मन्त्रालयले जनाएको छ । ‘नेपाल कुनै पनि क्षेत्रिय र अन्तर्राष्ट्रिय रणनीतिक सैन्य गतिविधीमा सहभागी नहुने भएपनि सुरक्षा र सैन्य बललाई व्यवस्थित गर्नेबारेमा भएको छलफलमा फेल्टर सकारात्मक हुनु भएको छ’–मन्त्री पोखरेलको भनाई उद्धृत गर्दै रक्षा मन्त्रालय स्रोतले भन्यो ।