दाफिन्सले जित्यो तिलोत्तमा गोल्ड कप


यमलाल भुसाल, बुटवल
दाफिन्स एफसी क्यामरुनले बुटवलमा भएको २१ औं तिलोत्तमा गोल्ड कपको उपाधी दाफिन्स एफसी क्यामरुनले उचालेको छ ।

सोमबार नेपाल पुलिस क्लवसंग भएको फाईनल खेलमा सडन डेथमार्फत् जित हात पार्दै दाफिन्सले उपाधि जित्यो । पहिलो पटक सहभागिमै उपाधि जितेको सो टोलीको यो सिजनमा तेस्रो उपाधि समेत हो । यसअघि दाफिन्सले पोखराको मनकामना कप र पूर्वको बुढासुब्बा कप उचालिसकेको छ ।

निर्धारित समयमा गोलरहित बराबरी भएपछि खेललाई पेनाल्टीमा लगिएको थियो । यद्यपी पेनाल्टीमा पनि बराबरी भएपछि सडन डेथमा पुलिसका तेज तामाङ्को प्रहारलाई दाफिन्सका गोलकिपर प्रिसो नटजंगाले रोकिदिएका थिए । प्रतिउत्तरमा दाफिन्सका नियाको प्रहारले जाली चुमेसंगै उपाधी उचालेको हो । उपाधि विजेताले ८ लाख ८० हजार रुपैंया र उपविजेताले ५ लाख ५० हजार नगद पुरस्कार प्राप्त गरे ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी लाली रुपन्देही ११ का आशिष गुरुङ् भएका छन् । उनले एउटा स्कुटी पुरस्कार प्राप्त गरेका छन् । अन्य विधामा पुलिसकै वर्चश्व रह्यो । अनन्त थापा उत्कृष्ट प्रशिक्षक, हेम तामाङ् उत्कृष्ट मिड फिल्डर, रवि पासवान उत्कृष्ट फरवार्ड र बिक्रम धिमाल उत्कृष्ट डिफेन्स घोषित भए । उत्कृष्ट गोलकिपर भने विदेशी खेलाडीले भरिएको दाफिन्स प्रिसो भएका थिए । उनीहरुलाई समान २५ हजार रुपैंया नगद पुरस्कार प्रदान गरिएको छ ।