भारत र पाकिस्तानबीच खेल सन्देहमा


लन्डन, (एजेन्सी)
आगामी जुन १६ मा हुने विश्वकप क्रिकेटअन्तर्गत खेलमा भारत र पाकिस्तानले खेल्छ कि खेल्दैन भन्ने चर्चा अहिले चुलिएको छ। काश्मीरको पुलवामा १४ फेबु्रवरीमा भएको हमलामा भारतीय जवानको निधन भएपछि अहिले भारत र पाकिस्तानबीच तनाव उत्पन्न भएको छ। यही कारणले गर्दा आगामी इंग्ल्यान्डमा हुने विश्वकपमा यी दुईबीच खेल हुने नहुनेमै अहिले सबैको ध्यान केन्द्रित भइरहेको छ।

समाचार एजेन्सी पीटीआईले जनाएअनुसार भारतीय क्रिकेट बोर्डले पाकिस्तानसँग विश्वकपको खेल खेल्ने नखेल्ने बारे कुनै निर्णय लिएको छैन। तर खबर यस्तो छ कि भारतले पाकिस्तानलाई विश्वकपमा प्रतिबन्ध गर्न अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आईसीसी० लाई दबाब बनाइरहेको छ।

यही विषयलाई लिएर भारतीय प्रशासनिक समितिका सदस्यले शुक्रबार बैठक बसेको थियो। बैठकमा समितका अध्यक्ष विनोद राईले बताए– ‘१६ जुन धेरै टाढा छ। हामी यसबारे पछि निर्णय गर्नेछांै र सरकारसँग सल्लाहपछि मात्रै।’

भारतीय क्रिकेटर सचिन तेन्दुलकरले ट्वीटरमा लेखे कि विश्वकपमा पाकिस्तानविरुद्ध नखेलेर भारतले त्यसै २ अंक गुमाउनु ठीक हुँदैन। भारत र पाकिस्तानबीच तनाव नयाँ होइन। यो पुरानै विषय हो। सन् २००८ देखि दुईपक्षीय सिरिज अहिलेसम्म खेलिएको छैन। पाकिस्तानी खेलाडीलाई भारतीय प्रिमियर लिग ९आईपीएल० मा समेत सहभागी गराइरहेको छैन।

म्यानचेस्टरमा हुने भारत र पाकिस्तानबीचको खेल नभएमा विश्वकपमा नोक्सानी पनि हुनेछ। यो खेलका लागि २५ हजार टिकट किन्न ५ लाखले निवेदन गरेका छन्। जबकि फाइनलमा हुने खेलका लागि मात्र २ लाख ७० हजार दर्शकले निवेदन दिएका छन्। यसले नै सावित गर्छ कि यी दुई देशबीचको खेल हेर्न विश्व कति आतुर छ भनेर।