प्रदेश १ बाट खेलाडी छनोट


विराटनगर, (नेस)
झापाका निक्की गुरूङ र एलिसा मगर आईटीएफ तेक्वान्दोको प्रदेश नम्बर १ को छनोट खेलमा स्वर्ण जित्दै आठौं राष्ट्रिय खेलकुदका लागि छनोट भएका छन्।
निक्कीले ७० देखि ७५ केजी तौलमा सुनसरीकी प्रतिष्ठा कट्वाललाई तथा ७५ केजीमाथि एलिसाले सुनसरीकी दिव्या खत्रीलाई हराउँदै स्वर्ण जितेका हुन्। यस्तै महिला ४० देखि ४५ केजी तौल समूहमा सुनसरीकी सोनिया बस्नेतले भोजपुरकी दिक्षा लिम्बूलाई पराजित गर्दै स्वर्ण जितिन्। ६५देखि ७० केजी तौल समूहमा झापाकी रेखा लिम्बूले मोरङकी प्रकृति कार्कीलाई हराउँदै स्वर्ण जितिन्।

कराँतेको पुरुष कुमुतेको ५५ केजी तौल समूहमा मोरङका बिवेक थापा र झापाका मनिस उप्रेती फाइनलमा प्रवेश गरेका छन्। पुरुष ६० केजीमा खोटाङका सन्तोष राई र मोरङका किशोर कोईरालाले फाइनल भिडन्त पक्का गरेका छन्। पुरुष ६७ केजीमा मोरङका रोदन खड्का र धनकुटाका लोकेन्द्र राई फाइनल प्रवेश गरेका छन्।
७५ केजी तौल समूहमा उदयपुरका अजित मगरले फाइनलमा स्थान बनाए। सोही समूहमा इलामका राजु विकले फाइनलमा स्थान सुरक्षित गरे। इलामका ओमराज गुरुङलाई हराउँदै झापाका प्रसिस रुचाल फाइनल प्रवेश गरे। सोही समूहमा मोरङका आयुशकुमार केसी फाइनल प्रवेश गरे। ९१ केजी तौल समूहमा सुनसरीका कपिल राईलाई हराउँदै झापाका इसाक जनक शाही फाइनल प्रवेश गरे।