खानेपानीको पर्खाल भत्काइयो

0
Shares

सरोज यादव, विराटनगर
मोरङको जहदा गाउँपालिकामा कमसल सामग्री प्रयोग गरी निर्माण गरिएको खानेपानी आयोजनाको पर्खाल भत्काइएको छ । कमसल सामग्री प्रयोग भएको पुष्टि भएपछि ८० प्रतिशत निर्माण सम्पन्न भएको पर्खाल भत्काइएको हो ।

मोरङको जहदा गाउँपालिका–३ भाथीगञ्जमा निर्माणाधीन खानेपानी आयोजनाको पर्खाल निर्माणको क्रममा गुणस्तरहीन र कमसल सामग्री प्रयोग भएको पुष्टि भएपछि भत्काउन लगाइएको छ । संघीय सरकारको लगानीमा बहुबर्षे योजनाअन्तर्गत १४ लाख बढी बजेटमा उपभोक्ता समितिमार्फत आयोजनास्थलको घेराबेरा गर्न पर्खाल निर्माणको काम भइरहेको थियो । सम्झौताअनुसार एक नम्बर इट्टा र गुणस्तरीय बालुवा सिमेन्ट प्रयोग गर्नुपर्ने भए पनि पिकेट इँट्टा र कम गुणस्तरको सिमेन्ट प्रयोग गर्दै धमाधम निर्माण गरिएको थियो ।

त्यसरी निर्माण गरिएको पर्खालको केही अंश निर्माण भएको दुई दिनमै ढल्न थालेको थियो । ठेक्केदारले आयोजनाको कम्पाउण्ड पर्खाल निर्माण गरेको दुई दिनमै भत्किन थालेपछि स्थानीयबासीले गुणस्तरहीन काम भएको भन्दै विरोध जनाएका थिए । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय नम्बर ४ झापाको उपभोक्ता समितिमार्फत् काम गर्नु पर्ने प्रावधानविपरीत ठेक्का दिएर काम सुरू गरेको थियो ।

लगतै डिभिजन प्रमुख सयनकुमार श्रेष्ठसहित इन्जीनियरहरुको टोलीले समेत निर्माण कार्यको स्थलगत अनुगमन गरेको थियो । सो क्रममा गुणस्तरहीन र कमसल सामग्री प्रयोग भएको पुष्टि भएपछि निर्माण गरिसकिएको १ सय ६० मिटर बढीको पर्खाल भत्काउन लगाइएको छ । विराटनगरस्थित खानेपानी तथा सरसफाई डिभिजन कार्यालय डिभिजन नम्बर ४ झापाका इन्जीनियर ज्योतिषकुमार मिश्रले स्थलगत अनुमनको क्रममा मापदण्ड विपरीतको सामग्री प्रयोग भएको भेटिएपछि पर्खाल भत्काउन लगाइएको बताए । उनले निर्माण गरिएको पूरै पर्खाल भत्काइसकेपछि साइट क्लियर गरेर सम्झौताअनुसार नयां संरचना निर्माण गरिने जानकारी दिए ।

साविकको भातिगछमा रहेको १८ कट्ठा ऐलानी जग्गामा खानेपानी तथा सरसफाई डिभिजन कार्यालय नम्बर ४ झापाको मातहतमा आयोजनाको कम्पाउन्ड पर्खालको काम सुरू भएको हो । तीनवर्षेमा करिब ८ करोड रूपैयाँको लागतमा काम सम्पन्न गर्ने योजनाअनुसार चालु आर्थिक वर्षमा १४ लाख २५ हजार रूपैयाँमा खानेपानी आयोजनाको कम्पाउण्डको पर्खाल लगाउने काम सुरू भएको थियो ।