राजधानीका दुई स्थानमा विस्फोट

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल कार्यालय भैंसेपाटी गेटमा शुक्रबार राति ८ बजे बम विस्फोट भएको छ। बम विस्फोटमा परी ३ जना घाइते भएका छन्।
विस्फोटनमा कार्यालयको गेटमा क्षति पुगेको सातदोबाटो प्रहरी वृत्तले जनाएको छ। घाइतेहरूको मेडिसिटी, बीएन्डबी र अल्का अस्पतालमा उपचार भइरहेको जनाइएको छ। विस्फोटमा परी घाइते हुनेहरूमा प्रतीक्षा खड्का, सिंहप्रसाद गुरुङ र पुरुषा मानन्धर रहेका छन्। घाइतेमध्ये गुरुङको अवस्था चिन्ताजनक रहेको र अन्य दुईको भने सामान्य अवस्था रहेको ललितपुर प्रहरी वृत्तका प्रहरी नायब उपरीक्षक अपिलराज बोहोराले जानकारी दिनुभयो।
ललितपुर प्रहरी प्रमुख रवीन्द्र घानुकले विस्फोटमा प्रेसर कुकर बम प्रयोग भएको बताउनुभएको छ। बम विस्फोटबाट कार्यालयको छेउमै रहेको पसलमा पनि क्षति पुगेको प्रारम्भिक रिपार्ट आएको छ।
शुक्रबार राति ८ बजे नख्खुस्थित एनसेलको मुख्यालय गेटको अगाडि भयानक आवाजसहित बिस्फोट भएको बोहोराले जानकारी दिनुभयो। कसले के प्रयोजनका लागि किन विस्फोट गराएको भन्नेबारे छानबिन भइरहेको प्रहरीले जनाएको छ।
यसैबीच काठमाडौं कमलपोखरीस्थित लोहोत्से चोकमा रहेको आँगन स्वीट्सभित्र बम फेला परेको छ। पसलको टेबलमाथि खरानी रङको झोलामा प्रेसर कुकर बम फेला परेको प्रहरीले जनाएको छ। यो समाचार तयार पार्दासम्म घटनास्थलमा नेपाली सेनाको टोली पुगेर बम डिस्पोज गर्ने प्रयास भइरहेको छ।
त्यसै गरी बिहीबार राति बागलुङका तीनवटा एनसेलका टावरमा अज्ञात समूहले आगजनी गरेको छ। बागलुङ नगरपालिका–७ मूलपानी, गल्कोट नगरपालिका–८ काँडेबास र निसिखोला गाउँपालिका–७ राजकुतमा रहेको एनसेलको टावरमा अज्ञात समूहले आगजानी गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।
एनसेल टावरमा कसले र के प्रयोजनका लागि आगजनी गरेको भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी कोइरालाले बताउनुभयो।
टावरमा आगलागी भएको देखेपछि स्थानीयले गरेको खबरका आधारमा घटनास्थलमा पुगेको प्रहरीले अनुसन्धान थालेको कोइरालाले बताउनुभयो। आगजनीबाट टावरमा भएको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।