क्लब डेजाभूका सञ्चालक पक्राउ

0
Shares

मनोज रेग्मी, काठमाडौं
महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले दरबारमार्गस्थित क्लब डेजाभूका सञ्चालकलाई पक्राउ गरेको छ।
प्रहरीले क्लब सञ्चालक प्रवेश श्रेष्ठ, प्रतीक श्रेष्ठ र समीप शिलाकारलाई बिहीबार साँझ पक्राउ गरेको हो। पक्राउपछि प्रहरीले उनीहरूविरुद्ध थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा हाजिर गराएको थियो।
त्यसलगत्तै उनीहरूविरुद्ध थप अनुसन्धानका लागि ३ दिनको म्याद थप गरिएको छ। उनीहरूविरुद्ध परिसरमा साढे ३ करोड रुपियाँ ठगी गरेको उजुरी दर्ता भएपछि पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिनुभयो।
क्लब डेभाजु मर्मतसम्भारका लागि लिइएको २ करोड रुपियाँ फिर्ता नगरी ठगी गरेको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको उहाँले जानकारी दिनुभयो।
क्लब सञ्चालक प्रवेश श्रेष्ठसहितको टोलीले २ करोडको चेक दिएको भए पनि अहिलेसम्म उक्त चेक साटिएको छैन। चेक नसाटिएपछि चेक बाउन्स र ठगीको अभियोगमा पक्राउ गरी अनुसन्धान शुरु गरिएको उहाँले बताउनुभयो। पक्राउ परेका अभियुक्त छुटाउन बिचौलियाहरू राजनीतिक नेतृत्वकहाँ धाउन शुरु गरेको र पटकपटक प्रहरीलाई नै अर्थिक प्रलोभनमा पार्दै आएको स्रोतको दाबी छ।
पक्राउ परेका श्रेष्ठ नेपाल प्रहरीको मोस्ट वान्टेड सूचीमा छन्। महानगरीय अपराध महाशाखा टेकुले प्रतीक श्रेष्ठ भनिने प्रतीक हवल्दारलाई जबरजस्ती असुली, काठमाडौंमा गुण्डागर्दीको अभियोगमा मोस्ट वान्टेड सूचीमा राखेको छ।