दुई लघुवित्त मर्ज

0
Shares

काठमाडौं, (नेस)
गोरखामा केन्द्रीय कार्यालय भई १० जिल्ला कार्यक्षेत्र भएको साधना लघुवित्त वित्तीय संस्थाले तनहुँमा रजिष्टर्ड कार्यालय भई १० जिल्ला कार्यक्षेत्र आर्थिक समृद्धि लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने भएको छ ।

सबल पुँजी भएको उत्कृष्ट राष्ट्रियस्तरको लघुवित्त वित्तीय संस्था लक्ष्यका संस्था गाभ्ने समझदारी भएको बताइएको छ । समझदारीमा साधना लघुवित्तका अध्यक्ष कृष्णबहादुर थापा र आर्थिक समृद्धि लघुवित्तका डा. एकनारायण चापागाईंले हस्ताक्षर गर्नुभयो । प्राप्तिपछि संस्थाको नाम साधना लघुवित्त वित्तीय संस्था रहनुका साथै केन्द्रीय कार्यालय हरमटारी ६ गोरखामा रहने छ ।

चालँ आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा चुक्ता पुँजी ४ करोड ९० लाख रहेको साधना लघुवित्तले २६ वटा शाखा सञ्चालनमा ल्याएको छ भने २० हजार जना सदस्यमार्फत १३ करोड निक्षेप संकलन गरी ७० करोड रुपियाँ लगानी गरेको छ । यस अवधिमा कम्पनीले ५७ लाख रुपियाँ नाफा गरेको छ ।

त्यसैगरी चुक्ता पुँजी ३ करोड ६ लाख २५ हजार रहेको आर्थिक समृद्धि लघुवित्तले १४ वटा शाखामार्फत ५ हजार जना सदस्यमार्फत ४ करेड निक्षेप संकलन गरी १५ करोड लगानी गरेको छ ।

नेपाल राष्ट्र बैंकले ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थालाई प्रदेशस्तर वा राष्ट्रियस्तरमा कायम रहनुपर्ने र सोका लागि मर्जर तथा प्राप्तिलाई प्रोत्साहन गरेको सन्दर्भमा यस दुई लघुवित्तको प्राप्ति सम्बन्धी सम्झौता नेपालमै पहिलो रहेको साधना लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले बताउनुभयो ।