२१ फरार प्रतिवादी पक्राउ

0
Shares

अमृत अर्याल, स्याङजा ।
विभिन्न अपराध तथा घटनाहरुमा संलग्न २१ फरार प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता नवीनकृष्ण भण्डारीका अनुसार स्याङ्जा जिल्लाका विभिन्न स्थानहरुमा विभिन्न मितिमा अपराध तथा घटनाहरु घटाई फरार रहेका प्रतिवादीहरुलाई जिल्ला प्रहरी कार्यालय तथा अन्तर्गतका प्रहरी इकाईहरुबाट प्रहरी परिचालन गरी पक्राउ गरेको हो ।

चालु आर्थिक वर्षमा मात्रै प्रहरीले केही सार्वजनिक अपराध मुद्धामा ५ जना, बहुबिबाहमा ५ जना, कर्तब्य ज्यान मुद्धामा ४ जना, अंशबण्डामा २ जना, जबरजस्ती करणीमा १ जना, सम्बन्ध विच्छेदमा १ जना, कुटपिट तथा लुटपिटमा १ जना, लागु औषधमा १ जना, ठगीमा १ गरी २१ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरी कारबाहीका लागि जिल्ला अदालतमा पेश गरेको हो ।

त्यसैगरी जिल्ला अदालतको फैसला बमोजिमको सजाय अनुसारको जरिवाना भुक्तानी नगरी फरार एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले अर्जुनचौपारी गाउँपालिका ५ बस्ने २३ बर्षका बिशाल बिकलाई पक्राउ गरेको हो ।

पक्राउ परेका बिकलाई कर्तव्य ज्यान मुद्धामा २०७३ फागुन २० गते जिल्ला अदालत स्याङ्जाको फैसलाले ५ महिना ३ दिन कैद तोकेपछी फरार रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक नबिन कृष्ण भण्डारीले बताउनुभयो । बिकलाई पक्राउ गरी जिल्ला अदालत स्याङ्जामा पेश गरिएको छ ।