आहा रारा गोल्ड कपको तयारी पूरा


पोखरा, (नेस)
मोफसलकै प्रतिष्ठित आहा रारा गोल्ड कप फुटवल प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भएको छ । फागुन ९ गते बाट चल्ने प्रतियोगिताको पुरस्कार राशिमा समेत वृद्धि गरिएको छ । प्रतियोगिताको विजेताले ८ लाख एक हजार र उपविजेताले भने ४ लाख एक हजार रुपैयाको पुरस्कार प्राप्त गर्नेछन् । गत बर्षको तुलनामा यस बर्ष विजेतालाई एक लाख र उपबिजेतालाई ५० हजार रकम बढी हो ।

१० दिन सम्म चल्ने प्रतियोगितामा आयोजक सहारा क्लबसँगै लिग विजेता मनाङ मर्स्याङ्गदि क्लब, थ्रीस्टार क्लब, हिमालयन शेर्पा क्लब, धरान फुटबल क्लब सुनसरी, नेपाल पुलिस, त्रिभुवन आर्मी, एपिएफ क्लब रहेका छन् । विदेशी टोलीमा डाफिन्स फेमिली टिम क्यामरुन र युनाइटेड सिक्किम भारतको सहभागिता पनि हुनेछन् ।

एन्फाको कारण यस पटक प्रतियोगिताको अवधि १० दिनमा खुम्चिन पुगेको सहारा क्लब पोखराका अध्यक्ष केशव बहादुर थापाले बताए । उनले भने “ आहा रारा फुटवल प्रतियोगिताको इतिहासमै १२ दिनसम्म संचालन हुदै आएको आएको उक्त प्रतियोगिता यसपालि एन्फाले खेल तालिका १० दिनको लागि सारिएको हो, मोफसलमा धेरै खेल भए हामिले भरपुर प्रायास गरेका थियौ, तर सकेनौ । ”

यस अघि आहा रारामा १२ टिमको सहभागिता हुने गरेको थियो । करिव तीन हजार दर्शक अट्ने अस्थाइ प्यारापिट निर्माण गर्ने उनले जानकारी दिए । प्रतियोगिताबाट १ करोड ३० लाख एक हजार आम्दानी गर्ने लक्ष्य राखिएको क्लवका महासचिव विश्वराज बरालले बताए । उनका अनुसार प्रतियोगिता सम्पन्न गर्न करिब ९७ लाख ९८ हजार लाग्ने भएको छ भने प्रतियोगिताबाट ३२ लाख २ हजार रुपैया बचत गरिने लक्ष्य राखिएको छ ।

बचत रकमलाई क्लवले कठिन परिस्थिति एवं विपन्नबर्गका वालकहर सम्मेलित सहारा फुटवल एकेडेमीमा लगानी हुने भएको बरिष्ठ उपाध्यक्ष हरीराम गुरुङले बताए । हाल तेश्रो व्याचको एकेडेमीमा १६ जिल्लाका २८ जना बालकहरु आश्रित छन् ।

प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीलाई यस वर्ष भने स्कुटर प्रदान गरिने भएको छ । त्यस्तै उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई समान १५÷१५ हजार रुपैयाँ दिइनेछ । सर्वाधिक गोलकर्तालाई नगद २५ हजार रुपैया प्रदान गरिनेछ ।

प्रतियोगिताको अवधिमा सर्वोउत्कृष्ट राष्ट्रिय फुटवल खेलाडी २०७५ बाट एक जनालाइ नगद ३५ हजारको साथमा सम्मान गरिने क्लबले जनाएको छ । हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा उक्त प्रतियोगिता हुन लागेको हो ।

त्यस्तै प्रतियोगिताको प्रीक्वाटरफाइनल खेल विजेतालाई २० हजार र उपविजेतालाई १० हजार, क्वाटरफाइनल विजेता तथा उपविजेतालाई क्रमशः ३० र २० हजार, सेमिफाइनल विजेता तथा उपविजेतालाई समान ५० हजार रुपैया दिने जनाएको छ । फागुन १८ गते सम्म चल्ने प्रतियोगिताको उदघाटन खेल आयोजक सहारा क्लब र नेपाल एपीएफ क्लब विच हुनेछ ।