तनहुँ हाइड्रोपावरले पनि सीएमसीसँगको ठेक्का तोड्यो

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
निर्माणको अन्तिम चरणमा पुगेको मेलम्ची खानेपानी आयोजना निर्माण गर्दागर्दै भागेको इटालियन ठेकेदार कम्पनी सीएमसीसँग नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडले पनि ठेक्का सम्झौता रद्द गरेको छ ।

तनहुँ हाइड्रोपावरले ठेक्का रद्द गर्न मंगलबार सीएमसीलाई टर्मिनेसन लेटर दिएको छ । यसअघि तनहुँ हाइड्रोपावरले सीएमसीलाई कम्पनीले साइटमा काम थाल्न २८ दिनको समय दिएको थियो । उक्त म्याद शुक्रबार सकिएको र त्यस अवधिसम्म ठेकेदार काममा नर्फिएपछि ठेक्का रद्द गरिएको हो । ठेक्का रद्दसँगै सीएमसीको कार्यसम्पादन जमानत जफत गर्ने तयारी भएको छ ।

सीएमसीले ठेक्का सम्झौता गर्दा १ अर्ब ९७ करोड रुपियाँ धरौटी राखेको छ ।
१४० मेगावाट क्षमताको आयोजनाको निर्माण गर्न सो कम्पनीले नदी फर्काउने, बाँधलगायतका पहिलो प्याकेजका संरचना (हेड वक्र्स) निर्माणका ठेक्का पाएको थियो । सीएमसीसँग तनहुँ हाइड्रोपावरले २० अर्ब ६४ करोड ५२ लाख रुपियाँ (प्रोभिजनल सम र मँल्य अभिवृद्धि करसहित)सम्झौता भएको थियो ।

सन् २०२३ डिसेम्बरभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य लिइएको भए पनि ठेकेदार कम्पनी भाग्दा आयोजनाको लागत र अवधि बढ्ने अनुमान गरिएको छ । आयोजनाको कुल लागत ५० करोड ५० लाख (प्रसारणलाइन, ग्रामीण विद्युतिकरण तथा निर्माण अवधिको ब्याजसमेत) डलर अनुमान गरिएको छ ।

उक्त रकममध्ये एसियाली विकास बैंक (एडीबी)ले १५० मिलियन, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले१८४ मिलियन, युरोपियन इन्भेस्टमेन्ट बैंक (ईआईबी)ले डलर ८५ मिलियन र नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणले ८७ मिलियन डलर लगानी गर्ने तय भएको छ ।