फिल्म फेस्टिवल र फोटो प्रदर्शनी एकसाथ

0
Shares

राजधानीमा एकसाथ फिल्म फेस्टिवल र फोटोग्राफी प्रदर्शनी हुने भएको छ। आगामी फागुन १७ र १८ गते राजधानीको बबरमहलस्थित रिभिजिटेडमा कथा फेस्ट इन्टरनेसनल फोटो फिल्म फेस्टिवल आयोजना हुने भएको हो।

केवल १६÷१७ वर्षका युवाको समँहले पत्रकार सम्मेलनको आयोजना गर्दै कथा फेस्ट आयोजना गर्न लागेको जानकारी गराए। युवा फोटोग्राफर तथा फिल्म निर्माताहरूको रचनात्मक कामलाई प्राथमिकता दिन कार्यक्रम आयोजना गर्न लागिएको फेस्टिवलका निर्देशक रोजवे रेग्मीले बताए। ‘हामीले नयाँ पुस्तालाई प्ल्याटफर्म होस् भन्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गर्न लागेका हौं। नेपालमा क्यामेरासम्बन्धी कामप्रति रहेको संकीर्ण सोचाइको अन्त्य गर्ने र फिल्म निर्माताको नयाँ पुस्तालाई हौसला दिने हाम्रो मँल लक्ष्य रहेको छु।’ –राजवेले भने।

रोजवे रेग्मी, प्रसमन मैनाली, सिद्ध रौनियार, आदित्य न्यौपाने, रासरव श्रेष्ठ, अंकित मिश्र र इशान महर्जनको समँहको आयोजनामा हुन लागेको महोत्सवले युवाको नयाँ र रचनात्मक कलालाई प्राथमिकता दिने बताइएको छ। रेग्मीका अनुसार २१ वर्षभन्दा कम उमेरकाले खिचेको फोटो र ३० वर्षभन्दा कम उमेरकाले निर्माण गरेका फिल्मले यसमा सहभागिता जनाउन पाउनेछन्।

महोत्सवमा भारतलगायत विभिन्न देशबाट करिब २२ सय फिल्मले सहभागिता जनाएको र ती फिल्म छनोट क्रममा रहेका आयोजकले बताए। निर्णायकबाट छानिएका उत्कृष्ट २५ फोटोग्राफरले खिचेका फोटो महोत्सवमा प्रदर्शनमा राखिने र यसलाई दर्शकले खरिद गर्नसमेत सक्ने रेग्मीले बताए।

‘देशभरिबाट प्राप्त गरिएका तस्वीर पनि चित्र प्रतियोगिताका लागि परीक्षण हुने क्रममा छ। छानिएका २५ फोटोग्राफरलाई काठमाडौं बोलाइनेछ र उनीहरूलाई विषय र ठाउँ तोकी २५ मिनेटमा फोटो खिच्न लगाएर सो फोटोकै आधारमा विजयी घोषित गरिनेछ।’ –रोजवेले भने। २ दिन चल्ने महोत्सवमा फोटो प्रदर्शन र फिल्म स्क्रिनिङ गरिनेछ। सहभागीमध्ये उत्कृष्ट १६ फिल्म महोत्सवमा देखाइने तथा १२ देखि बेलुका ७ बजेसम्म दुई सिफ्टमा कार्यक्रम चल्नेछ। फिल्मतर्फको निर्णायकमा निर्देशक साम्तेन भुटिया, अविनाश विक्रम शाह र समीक्षकहरू रहनेछन् भने फोटो प्रतियोगिताको निर्णायक राजभाइ सुवाल रहेका छन्।

महोत्सवबाट विभिन्न गाउँका विद्यालयलाई फिल्म र फोटोग्राफीसम्बन्धी सीप विकास गर्न प्रशिक्षण दिनुका साथै नेपालका सात गाउँमा क्यामेरा र अन्य सामग्री पनि वितरण गर्ने आयोजकले जनाएका छन्।