नरेन्द्र केसी, घोराही, दाङ
छोरीलाई सबै पक्षबाट सशक्त बनाउन तुलसीपुर उपमहानगरपालिकाले ‘स्मार्ट छोरी’ कार्यक्रम शुरु गरेको छ । सोमवार वडा नम्वर ४ रक्षाचौरमा रहेको गुरुजजुर माविबाट यो कार्यक्रम शुरु गरिएको हो ।
विद्यालयमा १४ देखि १६ वर्ष उमेरका किशोरीहरुलाई आफुमाथि आपद आइपर्दा कसरी जोगिने भन्ने विभिन्न तरीका सिकाउँदै यो कार्यक्रम शुरु गरिएको छ ।
महिला हिंसा र वलत्कारका घटनाबाट कसरी जोगिने भनेर तुलसीपुर उपमहानगरपालिकाले स्मार्ट छोरी कार्यक्रम अघि बढाएको जनाएको छ । नगरपालिकाका उपप्रमुख मायाँ आचार्यले छोरीहरुलाई जटिल अवस्थामा कसरी प्रतिरक्षा गरेर उम्कने भन्ने वारेमा सिकाइएको बताउनुभयो । उपमहानगरका विभिन्न विद्यालयमा सञ्चालन गर्न लागिएको कार्यक्रममा शिक्षा, स्वास्थ्य, पोषण, नेतृत्व, सुरक्षाका साथै वालअधिकारका वारेमा समेत जानकारी गराइने उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख डा. गोकर्ण दाहालले बताउनुभयो । हरेक विद्यालयमा २ दिन विभिन्न विषयमा अभिमुखिकरणका साथै शारिरीक प्रतिरक्षा तालिम समेत दिइने उहाँले जानकारी दिनुभयो ।
विभिन्न विद्यालयमा गएर किशोरीहरुलाई स्मार्ट छोरीका वारेमा तालिम मात्रै नदिएर उनीहरुलाई नै प्रशिक्षक वनाउने योजनामा उपमहानगरपालिकाले काम अगाडि वढाएको छ । प्रतिरक्षा तालिम दिदै प्रशिक्षक निरज न्यौपानेले सामान्य उपाय लगाएपनि ठूला भन्दा ठूला जोखिमबाट मुक्त हुन सकिने बताउनुभयो ।
यो कार्यक्रमबाट छात्राहरु निकै उत्साहित देखिएका छन् । कक्षा ९ की छात्रा सुनिता केसीले निकै टाढा जंगलबाट विद्यालय आउनुपर्दा डरलाग्ने गरेको उल्लेख गर्दै यो तालिमपश्चात केही आत्मविश्वास बढ्ने विश्वास व्यक्त गर्नुभयो । हरेक दिन २ घण्टा हिडेर विद्यालय आउने केसीले अरुलाई पनि यस्तो सीपको वारेमा सिकाउने बताउनुभयो ।
कक्षा ९ मै पढ्ने सविना डाँगीले सानो सानो कुरामा हुने गरेको तनाव कसरी व्यवस्थापन गर्ने भन्ने वारेमा जानकारी पाएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘साथीहरुले या घरमा बाआमाले केही भन्दा सानो सानो कुरामा पनि तनाव हुन्थ्यो अव त्यसलाई कसरी कम गर्ने भन्ने वारेमा जानकारी पाइयो ।’
प्रमुख प्रशासकीय अधिकृत आनन्द सारुले वित्तिय साक्षरताका वारेमा जानकारी दिदै आर्थिक रुपमा समृद्ध वनाउनका लागि पैसा कसरी जोगाउँने भन्ने वारेमा जानकारी हुनुपर्ने बताउनुभयो । पत्रकार दुर्गाालाल केसीले कुनै पनि घटना सानो भनेर हेलचक्राइ गर्दा ठूला घटना निम्तिने भएकाले सामान्य घटना हुँदा पनि कानुनी उपचार खोज्नुपर्ने कुरामा जोड दिनुभयो ।











प्रतिक्रिया