वन्यजन्तुको अवैध व्यापार नियन्त्रण गर्न भन्सार अधिकारीलाई अभ्यस्त गराइँदै

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
लोपोन्मुख वन्यजन्तु, वन्यजन्तुका आखेटोपहार र अन्य प्रतिबन्धित वनस्पतिको अवैध कारोबारलाई प्रभावकारी ढंगमा नियमन र नियन्त्रण गर्न भन्सारका बरिष्ठ अधिकारीलाई अभ्यस्त गराइँदै छ ।

नेपाल लक्षित र नेपाल हुँदै अन्य मुलुकमा हुदै आएको आपराधिक गतिविधी नियमन गर्न दक्षिण एसिया वन्यजन्तु कानून कार्यान्वयन सञ्जाल (सावेन) को पहलमा यस्तो तालिम तय भएको हो । तालिममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय सहित मेची भन्सार, भद्रपुर, विराटनगर, विरगञ्ज, भैरहवा, नेपालगञ्ज, रसुवा, लामाबगर भन्सार कार्यालयका उच्च अधिकारी संलग्न रहने छन् । यससँगै भन्सार विभागका अधिकारी पनि सामेल हुँदैछन् ।
३ दिने तालिम भोली बुधवारदेखि ललितपुरमा शुरु हुँदैछ ।

सावेनमा सार्कका सबै मुलुक आवद्ध छन् । सावेन दक्षिण एसिया र आसपासका मुलुकमा हुने वन्यजन्तु र वनस्पतिको अवैध कारोबारलाई नियमन र नियन्त्रण गर्न सघाउने अर्धसरकारी छाता संगठन हो । नेपाल लक्षित र एक अर्को मुलुकमा हुने वन्यजन्तु अपराध सहित प्रतिबन्धित वनस्पतीको अवैध कारोबार पहिचान गर्न सघाउने उद्धेश्यका साथ यस्तो तालिम तय गरिएको सावेन सचिवालयका वरिष्ठ वातावरण अधिकृत प्रदीप भट्टराईले जानकारी दिनुभयो ।

उहाँका अनुसार सावेन आवद्ध मुलुकका विज्ञ, प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी) र नेपालका वन्यजन्तु विज्ञ तालिम प्रशिक्षकका रुपमा खटिदैछन् । ‘वन्यजन्तु अपराधका घटना–परिघटना नियाल्दा भन्सार पनि मुख्य नाका मध्येको एक हो, सोही आधारमा भन्सारका अधिकारीलाई यस्तो विषयको कानूनी र अन्य विविध पक्षबारे अवगत गराउने तयारी भएको हो’–भट्टराईले भन्नुभयो । नेपाल लक्षित वन्यजन्तु र आखेटोपहारको अवैध कारोबार हरेक वर्ष बढिरहेको सुरक्षा अधिकारी बताउँछन् । अवैध कारोबारका सिलसिलामा नेपाल भित्रिएका धेरै जिवजन्तु (सीआईबी), डिभिजन वन कार्यालय र अन्य निकायले नियन्त्रण गरेका उदाहरण धेरै छन् ।

वादर प्रजातीको अफ्रिकी जन्तु ‘रिङटेल्ड लिमुर’, बादर प्रजातीकै चिम्पाञ्जी, र ‘मोना मङ्की’, कुछुवा र अन्य जन्तु सहित पन्छीका धेरै प्रजाती अवैध व्यापारका सिलसिलामा नेपाल भित्रिएपछि जावलाखेलस्थित सदर चिडियाखानामा राखिएको छ ।