नाकाक्षेत्रमा नक्सा कोर्दै ‘इन्जिनियर मन्त्री’

0
Shares

नानीराम नेपाल, सिन्धुपालचोक
‘उ त्यहाँबाट वाल उठाउनुपर्छ, पहिरो रोकथाम गर्न सकीन्छ’, आइतबार तातोपानी नाकाको सडक सुधारका काममा भइरहेको प्रगतिबारे अवलोकनमा आएका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुविर महासेठ सडक विभागका महानिर्देशकलाई सुझाउँदै थिए । बाह्रविसेदेखि मितेरी पुलसम्मका विभिन्न खण्डमा झरेर उनी निर्माण गर्नुपर्ने पूर्वाधारका नक्सा कोरिरहेका थिए । ‘म आफैं इन्जिनीयर हुँ, कहाँ कसरी वाल उठाउँदा ठीक हुन्छ ज्ञान छ,’ उनी भन्दैथिए ।

गत असोजमा नाकाको स्थलगत निरीक्षण गरि फर्कीएका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुवीर महासेठ आइतबार दोस्रो पटक नाकाक्षेत्रमा आउँदा सडक सुधारमा उल्लेख्य प्रगति देखेर खुसी देखिन्थे ।‘पहिलोपटक आउँदा डेढ किलोमिटर पैदल हिँडेर मितेरी पुलसम्म आएको थिएँ, अहिले लिपीङ बजारसम्म नै गाडी आयो, उनले भने, तिन महिनामा यतिधेरै काम भइसक्यो अब बैशाखसम्म सवै क्लीयर भइसक्नेछ ।’ असोजमा नाकाको निरीक्षणमा आउँदा मन्त्री महासेठ कोदारी भन्दा तलबाट नै पैदल हिँडेर मितेरी पुलसम्म पुगेका थिए । बाह्रविसेदेखि मितेरी पुलसम्मको सडकखण्डका विभिन्न स्थानमा गाडीबाट झरेर निरीक्षण गरेपछि उनी खुसी देखिए ।

मन्त्री महासेठले बैसाखभित्र सडक संरचना सुधार गरि तातोपानी नाका खुल्ने निश्चित भइसकेको बताए । मन्त्रीसहितको निरीक्षण टोलीको स्वागतका लागि भेला भएका सीमाक्षेत्रका स्थानीयसँग उनले बैशाखमै नाका खुल्ने विश्वास दिलाए । ‘नाका तिन महिनाभित्रै खुल्दैछ, अब स्थानीयवासीले आफ्ना घर सिंगार गर्न थाल्नुस्, अन्यत्र गएकाहरु अब घर फर्कनुस् ’, उनले भने ।

प्रतिनीधि सभा सांसद अग्निप्रसाद सापकोटा, प्रदेश सरकारका मन्त्री अरुण नेपालले आफुहरुको निरन्तर पहलकदमीले नाका खुल्न लागेको बताए । ‘निरन्तरका पहलकदमीले अब नाका खुल्दैछ, सुरक्षाका सवालमा चिनीयाँहरुले केही शंका गर्दै आएका थिए’, सांसद सापकोटाले भने, ‘आवस्यक परे जनताकै ब्रिगेड बनाएर सीमामा सुरक्षा गर्छौ भनेपछि उहाँहरु विश्वस्त बन्नुभयो ।’