पुष्पा थापा, सर्लाही
फोहोर मैलाको कारण सर्लाहीको पुर्व पश्चिम राजमार्ग दुर्गन्धित बन्दै गएको छ। राजमार्ग छेउछाउका पसल, बजार र होटलबाट निस्केका फोहोरले नवलपुर, लालबन्दी, रानिगंज, फुलजोड दुर्गन्धित भएको हो। फोहोरमैला व्यवस्थापनमा स्थानीय तहले ध्यान नदिएको कारण सडकका दुबैतिर डम्पिङ साइट जस्तै बन्न थालेको छ।
सडकमा मरेका पशु, कालो प्लास्टिक भोला , फुटेका सिसा, काटेका कपाल , पानीका बोतल जताततै फालेको कारण पुर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाही खण्ड केही वर्ष देखि दुर्गन्ध बन्दै गएको हो।स्थानीय तहले बजार भित्रबाट निस्केको फोहोर मात्र व्यवस्थापन गर्ने र गाउघरबाट निस्केको फोहोर जथाभावी फाल्ने गरेकोले राजमार्ग छेउको सडक कुरुप र दुर्गन्ध बन्दै गएको नवलपुरका स्थानीय व्यापारी पुरुषोत्तमहरी श्रेष्ठले गुनासो गर्नुभयो ।
स्थानीय बासिन्दाले घरबाट निस्केको फोहोरलाई नजिकैको जंगल, खोला, राजमार्ग फाल्दा आसपासका वन जंगल र राजमार्ग दिनदिनै दुर्ग्न्धित भएर हिड्नै नसक्ने अवस्थामा पुगेको नन्देश्वर सामुदायिक वनका अध्यक्ष उत्तरकुमार कार्कीले बताउनुभयो। अहिले खासगरी महेन्द्र राजमार्गसँग जोडिएका सडक, वन क्षेत्र, खोला खोल्सा फोहोरमैलाबाट बढी प्रभावित भएको छ।
फोहोरमैला संकलन र व्यवस्थापन प्रणाली व्यवस्थित र प्रभावकारी नहुदा पुर्वमा बाँके खोला देखि पश्चिमा बागमती नदी छेउछाउका वन जंगल डम्पिङ साइट जस्तै भएकाले सडमा हिड्नेले सास्ती खेप्नुपरेको छ। बाक्लो बस्ती कमजोर फोहोर व्यवस्थापनको कारण लालबन्दी नगरपालिका अन्तर्गत नवलपुर बजार सबै भन्दा बढी प्रभावित भएको छ ।
ठेकेदारले समय फोहोर नउठाएको कारण बजारको फोहोरलाई व्यवस्थापन गर्न समस्या परेको र राजमार्ग छेउछाउमा धेरै दुर्गन्ध बढी रहेकाले फोहोर व्यवस्थापन गर्नका लागि ल्यान्डफिल साईटको खोजी भैईरहेको लालबन्दी नगरपालिका( ७ का वडा अध्यक्ष सुरेन्द्र न्यौपाने बतानुभयो । हरिवन नगरपालिकाले बजारबाट निस्केको फोहोरलाई चापिन खोलामा फाल्दै आएकोमा स्थानीयले विरोध गरेपछि सासापुरमा डम्पिङ साईट बनाएको छ।
हरिवन बजार क्षेत्रको फोहोरलाई व्यवस्थापन गर्न सकेपनि राजमार्ग आसपासको फोहोर तत्कालै व्यवस्थापन गर्न नसकिएको हरिवन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले जानकारी दिनुभयो ।उहाँले प्रचलित कनुनुको अधीनमा रही निजी क्षेत्र, सामुदायिक एवं गैरसरकारी सङ्घ, संस्थाको साझेदारीमा फोहोर मैला व्यवस्थापन गर्न सक्ने भएकाले आगामी दिनमा योजना बनाएर त्यसतर्फ नगरपालिका लाग्ने जानकारी दिनुभयो ।
जथाभावी फोहोर गर्नेलाई नगरपालिकाले कानुनी दायरामा ल्याउन नसकेको कारण फोहोरमैला व्यवस्थापनमा चुनौती थपिएको हरिवनका नगरपालिका स्थानीय रामशरण उप्रेतीले बताउनुभयो।ईश्वरपुर नगरपालिकाले बयलबास बजारवबाट निस्केको फोहोरलाई नजिकै रहेको फुलजोड खोलामा फाल्दै आएको छ । बजारबाट निस्केको फोहोर जथाभावी फाल्दा खोलानाला प्रदुषण हुने र रोगको संक्रमण बढने भएपनि स्थानीय तहले त्यसको लागि कुनै दीर्घकालीन सोच बनाएको छैन ।
फोहोमैला व्यवस्थापन गर्न उपयुक्त स्थान नभएकोले फुलजोड खोलालाई नै डम्पिङ साइट बनाएको ईश्वरपुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत देवनाथ पोख्रेलले जानकारी दिनुभयो । बढदो शहरीकरणसँगै अस्पताल तथा स्वास्थ संस्थाबाट निस्केको फोहोर खतरा र हानिकारक हुने भएपनि स्थानीय तहले सही तरिकाले व्यवस्थापन गर्न सकेको छैन। फोहोर मैला व्यवस्थापन ऐन २०६८ मा अस्पतालजन्य फोहोर एकै ठाउमा नराखि छुट्टाछुट्टै राख्नुपर्ने ऐनमा उल्लेख गरिएको छ । स्थानीय तहले त्यसो नगरी अस्पतालबाट निस्केको फोहोर र अन्य फोहोरलाई एकै ठाउँमा राखेर डम्पिङ गर्दा चारैतिर दुर्गन्ध बढेको स्थानीयको भनाइ छ।
राजमार्गको बागमती, हरिवन, लालबन्दी, ईश्वरपुर नगरपालिका भित्र अहिले साना ठुला गरि दुई दर्जन भन्दा बढी स्वास्थ्य संस्थाहरु संचालनमा रहेका छन। त्यहाबाट निस्केको फोहोरले मानव स्वास्थ्यमा नराम्रो प्रभाव पर्न सक्ने भन्दै चापिनी र सासापुरका स्थानीय बासिन्दाले ल्यान्डफिल बनाएर फोहोर फाल्न नगरपालिकासाँग आग्रह गरेका छन। अस्पतालजन्य फोहो व्यवस्थापन गर्न छुटै ऐन बनेपनि स्थानीय तहले सबै फोहोर एकैसाथ उठाएर व्यवस्थापन गर्ने गरेकोले त्यसको प्रभावकारी रुपमा कार्यान्वयन हुन सकेको छैन ।स्थानीय तहले वन जंगल, खोला नदि भित्र जथाभावी फोहोर फाल्न थालेपछि त्यसो नगर्न सबै स्थानीय तहलाई पत्र पठाएको डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख माधवप्रसाद देवले जानकारी दिनुभयो।
जथाभावी फालेको फोहोरबाट वन ,वन्यजन्तु तथा वातावरण प्रदुषण हुने भएकाले सबै स्थानीय तहले तत्कालै ल्यान्डफिल साईड तयार पारेर फोहोर मैला व्यवस्थापन गर्नु पर्ने उहाले बताउनुभो। जिल्लाका २० वटै स्थानीय तहले फोहोर व्यवस्थापन गर्ने अहिलेसम्म ल्यान्डफिल साइड तयार पारेका छैनन् ।











प्रतिक्रिया