नेपाल समाचारपत्र, बाँके
नेपालगञ्जमा छात्रा कलेज सञ्चालनका लागि ‘प्रक्रिया’ अघि बढाउने तयारी भएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले आफै सञ्चालन गर्ने गरी छात्रा कलेज बनाउन थालेको हो ।
नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालका अनुसार, छात्रा कलेजका लागि ‘डीपीआर’ तयार भएर अरु प्रक्रिया अघि बढाउने तयारी भएको छ ।
उपमहानगरपालिकाले छात्रा कलेजका लागि आठ करोड रुपैया बजेट छुट्याइसकेको छ । मुस्लिम र मधेसी किशोरीलाई लक्षित गरेर छात्रा कलेज सञ्चालन गर्न थालिएको हो । नेपालगञ्जमा छात्रा कलेज सञ्चालन गर्ने कुरा भने हरेक चुनावको एजेन्डा बन्दै आएको छ । मधेसी र मुस्लिमको बाक्लो उपस्थिति रहेकाले नेपालगञ्जमा यो एउटा ‘विकाउ’ एजेन्डा पनि हो ।
२० वर्षदेखि एजेन्डा बन्दै आएको छात्रा कलेज सञ्चालनका लागि नेपालगञ्जका मेयर धवलशमशेर राणाले आफैले कलेज सञ्चालन गरेका स्थानीय तहका प्रमुखहरुसँग ‘आइडिया’ लिने काम गरिरहेका छन् ।
देशमै नमूनाको रुपमा भक्तपुर नगरपालिकाले स्कूलदेखि कलेजसम्म सञ्चालन गरिरहेको छ । नेपालगञ्ज आइपुगेका भक्तपुरका मेयर सुनिल प्रजापतिसँग आइतबार भेट गर्दै नेपालगञ्जका मेयर राणाले ‘आइडिया’ लिएका हुन् । भक्तपुर नगरपालिकाले स्कूलमात्रै होइन, ख्वप इन्जिनियरिङ कलेज सञ्चालन गरेर अन्यत्रबाट आधा कम खर्चमा पढाइरहेको छ । नेपालगञ्जका मेयर राणा, प्रवक्ता रिजाल, नेकपाका युवा नेता रत्न खत्रीलगाउतले नगरपालिकाले नै स्कूलदेखि कलेजसम्म सञ्चालन गर्दाको ‘अनुभव, सहज र चुनौती’का बारेमा मेयर प्रजापतिसँग भलाकुसारी गरेका थिए ।
सो भेटमा भक्तपुरका मेयर प्रजापतिले शुरुवाती दिनमा चुनौती भएपनि अहिले स्कूल र कलेज आफै ‘सक्षम’ भइसकेको बताए । ‘तपाईले शुरु गरेको कामलाई ५ वर्षपछि अर्कोले कसरी लिने हुन्, त्यो चाहि चुनौतीको रुपमा रहन सक्छ, भक्तपुरका मेयर प्रजापतिले भने, भक्तपुरमा नेपाल मजदुर किसान पार्टीको अगुवाई भइरहेकाले एउटै नीतिले काम गरेको छ ।’ भक्तपुरका मेयर प्रजापतिले स्कूल र कलेजको व्यवस्थापकीय पक्षहरु पनि बताएका थिए । मेयर व्यवस्थापन समितिको अध्यक्ष, तीन जना वडाध्यक्ष सदस्य रहने गरी व्यवस्थापन समिति गठन हुने गरेको छ ।
ख्वप इन्जिनियरिङ कलेज सञ्चालनका विषयमा यसअघि नेपालगञ्जबाट प्रवक्ता प्रमोद रिजाल, वडा नं. १८ का अध्यक्ष दीपक बर्मासहित तीन सदस्यीय टोलीले भक्तपुरमै गएर अध्ययन गरेको थियो ।
नेपालगञ्जमा मंगलप्रसाद माविको जग्गामा छात्रा कलेज बनाउने तयारी भएको छ । नेपालगञ्जका मेयर राणाले छात्रा कलेज बनाउन थालेकाले यसअघि कलेज सञ्चालन गरिसकेका स्थानीय तहका प्रमुखहरुसँग ‘आइडिया’ लिने काम गरिरहेको बताए ।
नेपालगञ्जका मदरसाहरुमा पढ्ने मुस्लिम किशोरीहरु एसएलसी पास भएपछि पढाई छोड्ने गरेको पाइन्छ । नेपालगञ्जका दुई वटा मावि तहका मदरसा छन् । मधेसी समुदायका अधिकांश किशोरीहरु भारतीय कलेजमा पढिरहेका छन् ।
नेपालगञ्जमा छात्राका लागि छुट्टै स्कूल नभएको भने होइन । नेपालगञ्जमै सरस्वती स्कूलमा छात्रामात्रै पढ्छन् । नेपालगञ्जका एकथरीले भने सरस्वती स्कूललाई नै बिस्तार गरेर कलेज बनाउदा झनै राम्रो हुने बताउदै आएका छन् ।











प्रतिक्रिया