पर्वतको बिहादीमा बिहादी प्याराग्लाईडिङको परिक्षण सफल

0
Shares

नेपाल समाचारपत्र, पर्वत ।
दक्षिणी पर्वतको बिहादी गाँउपालिका वडा नं. ४ को लुरिङको डाँडामा प्याराग्लाईडिङ उडान सफल भएको छ ।
उरामको गेप्ताङ सामुदायिक होमस्टेले आयोजना गरेको गाँउ पर्यटन प्रवद्र्धन कार्यक्रमको अवसरमा प्याराग्लाईडिङ उडान गरिएको हो ।
पोखराको सराङकोटमा प्याराग्लाईडिङ चलाउदै आएका विवेक राना र गोले लामाको नेतृत्वमा विपिन परियार,रमेश नेपाली, विक्रम नेपाली र शत्या राईले विहादी गाँउपालिकाको आकाशमा प्याराग्लाईडिङ उडाए । सफल उडान अघि धावन मार्ग र अवतरण स्थलको बारेमा सम्भाव्यता अध्ययन गरिएको थियो । बिहादीको आकाशमा एकै साथ ४ वटा प्याराग्लाइडिङ उडेपछी स्थानियवासीमा खुसीयाली छाएको थियो । चालकले आधा घण्टा भन्दा बढी समय सम्म उडान गरेपछी आँपालयमा अवतरण गराएका थिए ।

परीक्षण उडान पछी विपिन परीयारले लुरीङ र देउराली डाँडा प्याराग्लाईडिङ उडान गर्नका लागि र रानिपानीमा रहेको ईमिचौर अवतरण गर्नको लागि उत्तम स्थान रहेको बताए । यस ठाँउमा धेरै सम्भावना रहेको बताउदै भौगोलिक अवस्था,उचाई,हावाको गति लगाएतको सहजताका कारण आफुलाई उडान सहज बनेको चालकहरुको भनाई थियो । आवश्यक पूर्वाधार सडक,धावन मार्गको व्यवस्थित विकास गर्न सकेमा व्यवसायिक रुपमा यस स्थानमा प्याराग्लाइडिङ शुचारु गर्न सकिने चालक रमेश नेपालीले बताए ।

प्यारागलाइडिङका माध्यम बाट पर्यटन क्षेत्रको प्रवद्र्धन गर्दै विहादीलाई समृद्धिको पथमा हिडाउने लक्ष्यका साथ परीक्षण उडान गरिएको बिहादी गाँउपालिका अध्यक्ष कमलप्रसाद भुषालले बताए । उनले यस स्थानको थप भौगोलिक अध्ययन र पूर्वाधार विकास गरी आगामी आर्थीक बर्षमा बजेट बिनियोजन गरि प्याराग्लाइडिङ नियमित सञ्चालन गर्ने प्रतिबद्धता जनाए ।

संम्भाव्यता अध्ययन र परीक्षण उडानको व्यवस्थापन गेप्ताङ सामुदायिक होमस्टे उरामले मिलाएको थियो । करिब २ हजार मिटर अग्लो डाँडा बाट प्याराग्लाइडिङ परिक्षण उडान हेर्न हजारौँ मानिसहरुको उपस्थिती रहेको थियो । बिहादी गाँउपालिकामा बिश्वकै ठुलो शिला शालिग्राम,बच्छेश्वरकोट,गोर्लाङ,देउराली,छाप जस्ता प्रसिद्ध धार्मीक पर्यटकीय स्थलहरु रहेका छन् भने कालिगण्डकी नदीमा ¥याफ्टिङ समेत हुदै आएको छ ।