विमल विष्ट, डोटी । डोटीको दिपायल सिलगढी नगरपालिका वडान.४ सेती प्राबिधिक शिक्षालय नजिक बस्दै आएका बादी समुदायहरुको दिनचर्या दुख दायी बन्दै गएको छ । केआईसिंह राजमार्गको सडक छेउमै बस्दै आएका बादी समुदायहरुको पक्कि भवन नहुँदा वर्षौ देखी उनिहरु पालको टहरा मुनी बस्दै आएका छन् ।
्यही सडकखण्ड भएर दिनहुँ जसो नेता र नेतृत्व आहोरदोेहोर गर्ने गरेका छन् । तर आफुहरुको पिडाका बारेमा हाल सम्म कसैलेपनि चासो नदेखाएको सो वस्तीका तेज बादीले बताउनु भयो । उहाँले भन्नुभयो, “हामीले बनाएका टहरा नजिक भएर ठुलाबडाहरु सधै हिडिरहन्छन् तर हाम्रो अवस्थाबारे कसैले सोधेका छैनन् ।”
सडकको छेउमै रहेको सरकारी जमिनमा उनिहरु बस्दै आएका छन् । उनिहरु सँग लालपुजा नभएर सुकुम्बासी भएर बसेका छन् । यो वस्तीमा न खानेपानी छ, न बिजुली बत्ती । यो बस्तीका नागरिकहरुको दैनिकी रात अन्धकारमा र दिन अरुको मजदुरीमा बित्ने गरेको स्थानिय शमिर विष्टले बताउनु भयो । उहाँले भन्नुभयो, “न बिजुली छ, न राती ओढ्ने बाक्लो लुगाछ, स साना केटाकेटी त नाङ्गै सुत्छन् कति चिसो होला आफै अनुमान गर्नुहोस ।”
डोटीका बादी समुदायहरुको घरवासका लागि दिपायल सिलगढी नगरपालिकाले जग्गा किन्ने निर्णय गरेपनि भनेको ठाउमा जग्गा नपाउदा बादीहरुको माग पुरा हुन सकेको छैन् । आफनो नाममा जमिन त के सुत्ने घर समेत नहुँदा यहाँका बादीहरुको दिनचर्या दुखदायी बन्दै गएको छ । आफनो पुख्यौली पेशा विस्थापीत भएपछि अहिले यहाँका बादी जातीहरु कोही मागेर तथा कोही मजदुरी गरेरपेट पाल्न बाध्य भएका छन् ।
शहरबजारमा आएका नयाँ तथा आधुनिक किसिमका सरसामान तथा भाडाकुडाँका कारण आफुले बनाउदै आएका माटाका ग्राग्रा,मादल,सुल्भा,पाल्लो लगायतका सामाग्री विस्थापित हुदै गएको स्याम बादीले बताउनु भयो । उहाँले भन्नुभयो, “भाडाकुडाँ वनाउन हामी माटो नै पाउदैनौ, बजारमा आधुनिक सामान पाएपछि हामी कहाँ किन्न पनि कोही आउदैनन् ।” उनीहरु यहाँ आइबसेको कम्तिमापनि २० वर्ष भईसक्यो । दजर्नौ परिवार भएको यो वस्ती भू–स्वामित्वविहीन छ । उनीहरुको न राम्रो बस्ने बास छ, न मिठो खाने गाँस नै छ ।
पुर्खाको पालादेखि यो प्रक्रिया निरन्तर चलिरहेको छ । यतिमात्र नभई उनिहरुको बस्ने घरमा पानी परेको बेला घरभित्रै पानी पस्ने र हिउँदमा बालबच्चा कठ्याङ्ग्रिएर हैरान हुने गरेका छन् । बादी तथा बिपन्न समुदायका दलिद परिवारका लागि घर निर्माणका गर्न सरकारले रकम दिएपनि यहाँका बादीहरुको आफनो नाममा लालपुर्जा अर्थात जमिन नहुँदा घर समेत नपाएको अर्का स्थानिय पदम दाशले बताउनु भयो । उहाँले भन्नुभयो, “घर बनाउनका लागि सरकारले रकम त दिएको थियो,हामी सँग लालपुर्जा भएन,कहाँबाट घर बनाउनु ।”
यहाँका बादी समुदायका पुरुषहरु बजारमा पुगेर ज्याला मजदूरी गर्छन् भने महिलाहरु घरधन्दामा व्यस्त रहन्छन् । अरुकुरो त छोडौ उनिहरुलाई मुख धुने तथा शौचालय जानलाई समेत पानी नहुँदा सँगै बगेको खोलाको फोहर पानी पिउन र अरुकामका लागि प्रयोग गर्न बाध्य भएको उनिहरुको गुनासो छ । उनिहरुको नजिक पर्ने वन सामुदायक वन भएका कारण उक्त वनबाट समेत उनिहरुले दाउरा घाँससमेत ल्याउन नपाएको स्थानिय धौली बादीले दुःखेसो पोख्नुभयो । उहाँले भन्नुभयो, “दाउरा लिन जाँदा लाल पुर्जा नभएकाले लैजान पाउदैनौँ भन्छन्, हामी के गरी र कहाँ गएर खाने ।”
उता दिपायल सिलगढी नगरपालिका नगर प्रमुख दिपायलमा रहेका बादी समुदायको बसोबासका लागि नगरपालिकाले पहल गरीरहेको र चाडै नै उनिहरुको उचित बासस्थान खोजिने बताउनु भयो । उहाँले भन्नुभयो, “बादीहरुको बासस्थानका लागि हामी अहोरात्र खटिएका छौँ,चाडै नै उनिहरुको समस्या हल गर्ने छाँै ।”











प्रतिक्रिया