हनुमन्ते नदी सफाई अभियानको ५१औं हप्ता

0
Shares

‘सबै नेपाली बिकास र समृद्धिको अभियानमा जुट्नुपर्छ’
नेपाल समाचारपत्र, भक्तपुर
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय एकताका साथ सबै नेपाली बिकास र समृद्धिको अभियानमा जुट्नुपर्ने बताउनुभएको छ ।हनुमन्ते नदी सफाई अभियानको ५१ औं हप्ताको अवसरमा आज भक्तपुरमा आयोजित वाकाथुन तथा राष्ट्रिय झण्डोत्तोलन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सत्तापक्ष र प्रतिपक्षबीच राजनीतिमा प्रतिस्पर्धा भए पनि बिकासमा एकता हुनुपर्नेमा जोड दिनुभयो ।

बिगतमा पनि दलहरुबीचको एकताले शान्ति प्रकृया,संबिधान निर्माण र निर्वाचन मार्फत तीनै तहको सरकार निर्माण संभव भएको भन्दै दलहरु मिलेरै नयाँ नेपाल निर्माणका लागि आर्थिक क्रान्ति सफल पार्नुपर्ने बताउनुभयो ।अध्यक्ष प्रचण्डले नेपालले लोकतन्त्रको मौलिक प्रयोग गरी बिश्वको ध्यान आकृष्ट गरेको बताउँदै नयाँ युगको आवश्यकता राजनीतिक स्थायित्व मार्फत बिकास र समृद्धि नै भएकोमा जोड दिनुभयो ।

हनुमन्ते सफाई अभियान सम्पुर्ण एकता र संकल्पको नमुना भएको बताउँदै यो अभियानलाई बिस्तार गर्दै देशलाई सभ्य,स्वच्छ  र सफा राख्ने अभियानमा परिणत गर्नुपर्ने बताउनुभयो ।अध्यक्ष प्रचण्डले सगरमाथाको देश तथा गौतमवुद्धको देश मात्र नभई नेपालको धर्म, संस्कृति, परम्परा, पर्यटकीय स्थल लगायतका विविधताका कारण विश्वको नजर नेपाल माथि रहेको बताउनुभयो ।

उहाँले नेपालमा आफ्नै मैलिकतामा आधारित रही लोतान्त्रीक गणतन्त्र स्थापना गरी आफ्नै परिवेशमा रही संविधान निर्माण गर्नु पनि विकसित तथा शत्तिशाली देशको नजर नेपाल माथि परको बताउनुभयो । अब नेपालको विकास र समृद्धिलाई कसैले रोक्न नसक्नेमा दिनुभयो ।
उहाँले सफाई अभियाले सभ्यताको विकास गरेको बताउँदै सफा, सुन्दर, सभ्य बनाउन मात्र नभई देशभरी सफाई तथा सभ्य समाज निर्माण गर्न नयाँ सन्देश प्रवाह गरेको बताउनुभयो । अध्यक्ष प्रचण्डले सफाई अभियान भक्तपुर जिल्लालाई नै रुपान्तरण गर्दै नयाँ युगमा प्रवेश गराउने कार्य गरेको बताउनुभयो ।

सवै समुदाय तथा राजनीतिक दलको एकता नै भक्तपुरको विकास र समृद्धि भएको बताउँदै उहाँले मठमन्दिर, बाटोघाटो, नदी, सार्वजनिक स्थल सफाई अभियान नै नयाँ युगको विकास र समृद्धिको फाड्को मार्ने कार्यमा भक्तपुर देशकै लागि उदाहरणीय भएको दावि समेत गर्नुभयो ।त्यस्तै उहाँले हनुमन्ते नदीको कोरिडोर युद्ध स्तरमा अघि बढेको समेत बताउनुभयो । विकास निर्माणका कार्यमा वर्तमान तीनै तहका सरकार तथा जनताको प्रत्यक्ष सहभागितमा मात्र सम्भव हुने भन्दै राष्ट्र, राष्ट्रियताप्रति बफदारिता सवैमा हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले देशको वातावरण संरक्षण गर्नु सवै नेपालीको दायित्व भएको बताउँदै वातावरणमा आएको ह्रासलाई सुधार गर्दै अघि बढाउनुपर्नेे र वातावरण स्वच्छ हराभरा राख्न चेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।कांग्रेस नेता सिंहले हनुमन्ते नदीलाई बिगतको जस्तै मान्छे पौडन  र माछा खेल्ने मिल्ने गरी सफा बनाउन सबै लाग्नुपर्ने बताउनुभयो ।

सांसद महेश बस्नेतले अब भक्तपुर सफा, सुन्दर, सुरक्षित तथा शिक्षा र स्वास्थ्यको गन्तब्य हुने बताउनुभयो। बस्नेतले सरकारले लिएको विकास र समृद्धिको लक्ष्यलाई भक्तपुरका जनताले अभियानका रुपमा सञ्चालन गरिरहेको उल्लेख गर्नुभयो । उहाँले ‘सफा सुन्दर हराभरा भक्तपुर, सुरक्षित भक्तपुर, उज्यालो भक्तपुर’ बनाउने उद्देश्यले आयोजना गरिएको हनुमन्ते सफाइ अभियान अहिले देशकै नमूना अभियानका रुपमा अगाडि बढेको बताउनुभयो । हनुमन्ते सफाइ अभियान १०० हप्तासम्म लैजाने बताउँदै नेता बस्नेतले अहिले हनुमन्ते करिडोर निर्माण तीव्र गतिमा भएको बताउँदै दुई वर्षभित्र हनुमन्तेलाई ढलमुक्त र सफा बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

अभियानका संयोजक एवं सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले अरनिको राजमार्ग सफाइ अभियानदेखि सम्पदा, मठमन्दिर सफाइ अभियान, गाउँ टोल सफाइ अभियानसमेत सञ्चालन गर्दै आएको बताउनुभयो । कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाको उपप्रमुख एवं अभियानका उपसंयोजक अञ्जनादेवी मधिकर्मी, अभियन्ता रुद्र पौडेलले अभियानले ल्याएको परिवर्तन बारेमा चर्चा गर्नुभयो ।

बिहान राष्ट्रिय धावक बैकुष्ठ मानन्धरको नेतृत्वमा मध्यपुर थिमिदेखि शुरु भएको वाकाथुन सल्लाघारी पुगेर समापन भएसँगै नेकपाका अध्यक्ष दाहाल र काङ्ग्रेसका नेता सिंहले सल्लाघारीमा गाडिएको नेपालको राष्ट्रिय झण्डा झण्डोत्तोलन गर्नुभएको थियो । समारोहमा राष्ट्रिय धावक मानन्धरलाई सम्मान गरिएको थियो ।