सयौं नागरिकले आफ्नै गाउँटोलमै लिए सरकारी सेवा

0
Shares

पुष्कर बुढाथोकी, भक्तपुर
सरकारले घरदैलोमै सरकारी सेवा पु¥याउन शुरु गरेको अभियानअन्तर्गत सूर्यबिनायक नगरपालिका–७ गुण्डुमा बृहत घुम्ती सेवा सम्पन्न भएको छ । शिविरमा निःशुल्क स्वास्थ्य शिविर, स्वास्थ्यका विशेषज्ञ सेवा, निःशुल्क औषधि वितरण, जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने नागरिकता, राहदानी, नाबालक परिचयपत्र, आदिवासी जनजाति प्रमाणपत्रको वितरणलगायतका सेवाप्रदान गरिएको थियो ।

घुम्ती शिविरमा बिरुवा वितरण, जनचेतनामूलक कार्यक्रम, खानेपानीको शुद्धता परीक्षण, फोटोसहितको मतदाता नामावली सङ्कलन, उद्योग दर्ता, अपाङगता भएका व्यक्ति, एकल महिला, विद्यार्थी, भूकम्पपीडितलाई निःशुल्क सिमकार्ड वितरण, भूकम्पपीडितको गुनासो व्यवस्थापनलगायतका सेवा प्रदान गरिएको सूर्यवनायक नगरपालिका–७ गुण्डुका वडाध्यक्ष रविन्द्र सापकोटाले बताउनुभयो ।

त्यस्तै सामाजिक सुरक्षाभत्ता वितरण, ज्येष्ठ नागरिक परिचयपत्र वितरण, अपाङ्गता परिचयपत्र, नक्सापास, भवन निर्माण सम्पन्न प्रमाणपत्र, अभिलेखीकरण, पशुको गोवर परीक्षण, नाम्लेको औषधि वितरण व्यवसाय दर्ता, कृषि बीउबिजन वितरण प्राविधिक सल्लाहलगायतका सेवा प्रदान गरिएको थियो । त्यसैगरी जिल्ला समन्वय समितिले सञ्चालन गर्दै आएको एम्बुलेन्स शुक्रबार सूर्यविनायक नगरपालिका–७ गुण्डुलाई हस्तान्तरण गरिएको छ । प्रमुख जिल्ला अधिकारी नारायण भट्ट र जिसस प्रमुख नवराज गेलालले जिससले सञ्चालन गर्दै आएको एम्बुलेन्स अबदेखि गुण्डु वडा कार्यालयले सञ्चालन गर्ने गरी हस्तान्तरण गर्नुभएको हो । एम्बुलेन्स हस्तान्तरणसँगै गुण्डु र आसपासका बासिन्दालाई सहज सेवा पुग्ने भएको छ ।

घुम्ती शिविरको सांसद महेश बस्नेत र सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले स्वास्थ्य परीक्षण गरी उद्घाटन गर्नुभएको थियो । सांसद बस्नेतले घुम्ती शिविरलाई अब चार वटै नगरपालिकामा पु¥याउने बताउनुभयो । सूर्यविनायक नगरपालिका प्रमुख वासुदेव थापाले गाउँगाउँमा सिंहदरबार भन्ने सरकारको अभियान भक्तपुरमा शुरु भएको बताउनुहुँदै यो अभियानलाई नगरपालिकाको प्रत्येक वडामा पु¥याइने बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरको अगुवाईमा जिल्लाका सबै सरकारी कार्यालयबाट जनतालाई दिने सबै सेवा एकै पटक एउटै थलोबाट प्रवाह गर्ने गरी एकीकृत घुम्ति शिविर सञ्चालन भएको छ ।शिबिरका लागि अतिथि सत्कार, सहयोग उपसमिति, प्रचार प्रसार उपसमिति, स्यवम् सेवक उपसमिति, साँस्कृतिकि, उपसमिति निर्माण गरिएको छ ।

घुम्ति सेवा तथा निःशुल्क स्वास्थ्य नेपाली सेनाको वीर दल गणबाट शिबिरका लागि भौतिक तथा प्राविधिक व्यवस्थापनको  काम भएको छ ।  शिविरमा  जिल्ला सदरमुकामका सम्पूर्ण सरकारी निकायका सेवाप्रदायक कार्यलयहरु कर्मचारी, फाईल, कागजात सहित देखिन्थे भने अस्पताल र अन्य स्वास्थ्य संस्थाहरु उपकरण र स्वास्थ्यकर्मीसहित देखिन्थे । सयौं नागरिकहरु आफ्नै गाउँटोलमा आईपुगेको यो शिविरबाट लाभ लिन तल्लिन देखिन्थे ।

सेना, प्रहरी लगायत अन्य सरकारी निकायहरु विभीन्न स्टलमार्फत जनचेतना मुलक काममा व्यस्त  देखिन्थे । रक्तदान ,स्वास्थ्य शिविर लगायतका स्टलहरुमा गाउँलेको उल्लेख्य भीड देखिन्थ्यो । आफूलाई आवश्यक सम्पूर्ण सेवाहरु लिइसकेपछि घर फर्किने बेला सहभागिका लागि चियापान, सांस्कृतिक तथा मनोरन्जनात्मक गतिविधिहरू आयोजना गरिएको थियो ।