भीमसेनको जन्मदिनमा भव्य मेला

0
Shares

चिरञ्जीवी मास्के, दोलखा ।
भीम एकादशीको अवसरमा शनिवार (आज) भीमेश्वर मन्दिर परिसरमा लघु रुद्री तथा भीम एकादशी मेलाको आयोजना गरिएको छ । भीम एकादशीलाई भीमेश्वर महादेवको जन्म दिनको रुपमा समेत मनाईने भएकोले मन्दिर परिसरमा विशेष कार्यक्रमको आयोजना गरिएको भीमेश्वर मन्दिर गुठी तथा पुजा व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठले बताए ।

भीम एकादशीको अवसरमा शुक्रवार देखिनै मन्दिर परिसरमा लाख बत्ति बाल्ने, जागराम बस्ने, भजन र्कितन र पुजा आराधना गर्ने कार्यक्रम भै रहेको अध्यक्ष श्रेष्ठले बताए । भीम एकादशीको दिन शनिवार मन्दिर परिसरमा १३ जना ब्राम्हणको सहयोगमा लघु रुद्रीको आयोजना गरिएको छ भने लाख बत्ति बाल्ने, भजन र्कितन भन्ने र पुजा आराधना गर्ने काम समेत भै रहेको श्रेष्ठले बताए ।

भीम एकादशीको दिन लघु रुद्रीमा भीमेश्वरको सिलामा दुध तथा पानीको जलधारा दिने, ११ जना ब्रामणले पाठ गर्ने र दुई जना ब्रामणले चरु होम गर्ने कार्यक्रम भै रहेको र रातभर भक्तजनहरु जागराम बसी भजन र्कितनमा रमाउने अध्यक्ष श्रेष्ठको भनाई छ ।

भीम एकादशीको दिन भीमेश्वर मन्दिरमा दर्शन गर्न आउने भक्तजनहरुको लागि खाजाको समेत व्यवस्थापन गरिएको भीमेश्वर मन्दिर गुठी तथा पुजा व्यवस्थापन समितिका सल्लाहकार एवं भीमेश्वर नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष विराज श्रेष्ठले बताए ।

किम्बदन्ति अनुसार सातौ सताब्दि भन्दा अघि देखिनै दोलखा बजार भारत र चिनको ब्यापारीक मार्ग र ब्यापारी तथा भरियाहरुको आराम गर्ने थलोको रुपमा रहेको थियो । एक दिन भरीयाहरु आरोम गर्ने क्रममा भात पकाएर खान लाग्दा एउटा ठडिएको ढुङ्गामा दुईवटा थप ढुङ्गा गाडेर खाना पकाउन खोज्दा पहिले देखिनै ठडिएर रहेको ढुङ्गा पट्टी जति समय राखेपनि खाना काचै बसेछ । खाना काचै भएपछि भरीया रिसाएर दाविलोले पहिले देखिनै ठडिएको ढुङ्गामा प्रहार गर्दा ढुङ्गाको चोईटा गएको र त्यहाँबाट दुध तथा रगत बग्न लागेको किम्बदन्ति प्रचलत छ । त्यसरी ढुङ्गाबाट रगत र दुध बग्न लागेपछि भरियाहरु डराई क्षमा माग्दै १२ बोकाको पुजा गरी मन्दिर निर्माण गरेको र सोहि सिलालाई भीमेश्वर महादेव भनिएको स्थानिय बृद्धहरु बताउछन् ।

हिन्दु धर्म अनुसार महादेवले बलि नखाने भएपनि भीमेश्वर मन्दिरमा जनै पूर्णीमाको दिन कालिञ्चोक भगवती प्रवेश गर्ने विश्वासको आधारमा भीमेश्वर मन्दिरमा रागाँ, बोका र कुखुराको बलि (भोग) दिने प्रचलन रहेको छ । यसरी मन्दिरमा बलि दिदा महादेव मन्दिर पछाडी रहेको चुडामणी स्तम्भमा गएर बस्ने जन विश्वास समेत रहदै आएको छ ।

देशमा कुनै ठूलै परिर्वतन हुन लाग्दा या कुनै ठूलै विपत्तिको बेलामा भीमेश्वरको सिलामा पसिना आउने जनविश्वास समेत रहेको पाईन्छ । अभिलेख अनुसार भीमेश्वरको सिलामा विक्रम संवत १९९० देखि २०७४ असोज १० गतेसम्ममा १६ पटक पसिना आएको छ ।