प्रेमिका बेपत्ता बनाउने प्रेमीविरुद्ध चार वर्षपछि मुद्दा दर्ता

0
Shares

संसद्मा सांसद पदम गिरीले सीता क्षेत्रीको मुद्दा उठाएपछि बल्ल तात्तीयो प्रहरी
दुर्गाप्रसाद शर्मा, पर्वत
विवाह गर्छु भनेर लिएर हिँडेकी प्रेमिकालाई बेचविखन गरेको अभियोगमा भारतीय सेनाका लाहुुरे प्रेमीको विरुद्ध प्रहरीले चार वर्षपछि मुद्दा दर्ता गरेको छ।

विवाह गर्छु भनेकाले प्रेमीको विश्वासमा हिँडेकी पर्वतको भंगाराकी सीता क्षेत्रीलाई बेपत्ता बनाएको अभियोगमा पर्वतको थापाठानाका मिलन भन्ने मनबहादुर क्षेत्री र उनका साथी मेकराज श्रेष्ठका विरुद्ध प्रहरीले चेलीबेटी बेचविखन तथा ओसारप्रसार कसुरमा मुद्दा दर्ता गरेको हो।

जिल्ला प्रहरी कार्यालय स्याङजाले क्षेत्रीका विरूद्ध मुद्दा दर्ता गरेको जानकारी प्रहरी उपरीक्षक राजकुमार लम्सालले जानकारी दिनुभयो। ‘हामीले अनुसन्धानका क्रममा क्षेत्रीको भूमिका शंकास्पद भेटेपछि मुद्दा गरेका हौं’, स्याङजाका प्रहरी प्रमुख लम्सालले भन्नुभयो– ‘अभियुक्तलाई भारतबाट इन्टरपोलमार्फत डिर्पोट गरेर ल्याउने र थप अनुसन्धान अगाडि बढाउँछौं।’ अभियुक्त क्षेत्री भारतीय सेनामा कार्यरत छन्। भारतीय सेनाको ३÷४ गोर्खा राइफल्समा कार्यरत मिलन त्यसपछि पल्टनमा हाजिर हुन गएका थिए। उनले अर्को विवाह गरेको र त्यसपछि नेपाल नफर्केको बताइन्छ।

पर्वतको फलेबास नगरपालिका–९ भंगाराकी सीता क्षेत्रीलाई २०७१ भदौ १५ गते प्रेमी मनबहादुर क्षेत्रीले विवाह गर्छु भनेर लगेपछि बेपत्ता भएको परिवारले दाबी गर्दै आएको छ। चार वर्षसम्म पनि खोजबिन हुन नसेको भन्दै आफन्तले असन्तुष्टि जनाउँदै बेपत्ता केसीको खोजबिनमा प्रहरीले कमजोरी गरेको आरोप लगाउँदै आएका थिए। क्षेत्री बेपत्ता भएपछि प्रतिनिधिसभा बैठकमा भदौमा सांसद पदम गिरीले प्रश्नसमेत उठाएका थिए। संसद्मा प्रश्न उठाएपछि प्रहरीले पुनः अनुसन्धान शुरू गरेको हो।

२०७१ भदौ १५ गते विवाह गर्न प्रेमीले लिएर हिँडेकी क्षेत्री त्यसपछि बेपत्ता छन्। सीताले आफ्ना प्रेमी पर्वतकै फलेबास नगरपालिका–२ थापाठानाका मिलन भन्ने मनबहादुर क्षेत्रीसँग विवाह गर्न हिँडेको पत्र लेखेर छाडेकी थिइन्। त्यसयता प्रेमीले भेटेको नै छैन भनेर बयान दिँदै आएका छन् भने सीतालाई भगाउन घरमा मिलनसँगै गएका उनका साथी मेकराज श्रेष्ठले सोही दिन दुई जनालाई नै कार्किनेटा र थापाठानाको सिमानामा छाडेको बयान दिएका थिए।

घरबाट राति लिएर हिँडेका प्रेमी मिलनले भारतमा बिक्री गरेको वा हत्या नै गरेको हुनसक्ने आशंका पीडितका परिवारले गरेका छन्। स्याङजा प्रहरीले परिवारका तर्फबाट छोरीलाई बेचबिखन गरेको भन्दै आफन्तले दिएको मानव ओसारप्रसार तथा बेचविखनसम्बन्धी मुद्दा दर्ता गरेको थिएन। लिएर जाने प्रेमी भारतीय सेनाको जागिरे र उनका साथी मेकराज नेपाली कांग्रेसका केन्द्रीय नेताका आफन्त भएकाले त्यस बखत प्रहरीले अनुसन्धान नगरिदिएको सीताका काका होमबहादुर पौडेल क्षेत्रीले बताए। त्यतिबेला पर्वतमा प्रहरीले अनुसन्धान गर्नका लागि नियन्त्रणमा लिएका व्यक्तिसमेत स्याङजा प्रहरीले दबाबका भरमा छाडेको आरोप क्षेत्रीले लगाए। त्यसबखत मिलन र मेघराजको परिवारले ठूलो आर्थिक रकम खर्च गरेर अपराधबाट छुटकारा पाएको आशंका पीडित परिवारको छ। ‘पैसा र दबाबकै भरमा छोरी बेपत्ता बनाउनेलाई प्रहरीले कारबाही गर्न सकेन’, उनले भने– ‘अब प्रहरीले फेरि मुद्दा दर्ता गरेका कारण मरेको न्याय पाउने आशा फेरि जागेको छ।’

निर्मला पन्तको हत्या प्रकरणमा प्रहरीले अनुसन्धानमा कमजोरी गर्दा अहिले प्रतिपक्षी कांग्रेसले संसद्मा सरकार असफल भएको, अपराधीको संरक्षण गरेको आरोप लगाइरहेको भन्दै सांसद पदम गिरीले सीता क्षेत्री बेपत्ता भएका बेला नेपाली कांग्रेसका सुशील कोइराला प्रधानमन्त्री भएकाले कांग्रेसलाई दोष दिन मिल्ने कि नमिल्ने भन्ने प्रश्नसमेत गरे।