स्वाभिमान यात्राको तयारीमा मकवानपुर

0
Shares

हेटौंडा, (नेस)
राप्रपाको आयोजनामा फागुन १५ देखि ३० गतेसम्म हुने मेची–महाकाली स्वाभिमान यात्राको तयारीलाई मकवानपुरमा तीव्रता दिइएको छ।
पार्टीका सहायक महामन्त्री राजाराम बर्तौलाको प्रमुख आतिथ्यता र जिल्ला अध्यक्ष मधु अधिकारीको सभाध्यक्षतामा स्वाभिमान यात्रा तयारी बैठक बसेको छ। बैठकमा सहायक महामन्त्री बर्तौलाले धर्म, संस्कृति र पहिचानको रक्षा, राष्ट्रियता संरक्षण, भ्रष्टाचार अन्त्य, आर्थिक समृद्धि, महिला हिंसा र सामाजिक विभेद अन्त्यका निमित्त जनतालाई जागृत गराउन स्वाभिमान यात्रा गरिएको बताउनुभयो।
निराशा र निष्क्रियता अन्त्य गरी उच्च मनोबलसाथ संगठन निर्माणमा केन्द्रित हुनुपर्ने बताउँदै बर्तौलाले राप्रपालाई मुलुकको बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्न सहयोग आवश्यक भएको चर्चा गर्नुभयो।

केन्द्रीय भ्रमण टोली सदस्यद्वय प्रकाश रिमाल र गोपाल पौडेलले पार्टी संगठनलाई केन्द्रमा राखेर युद्धस्तरमा सांगठनिक गतिविधि अगाडि बढाउन आग्रह गर्नुभयो। मकवानपुरलाई राष्ट्रवादीको किल्ला बनाउन सफलता मिलोस् भन्ने शुभेच्छा उहाँहरूले व्यक्त गर्नुभयो।
पार्टी केन्द्रीय अध्यक्ष कमल थापाको गृह नगर हेटौंडामा राप्रपा मकवानपुर अध्यक्ष अधिकारीले स्वाभिमान यात्रालाई सफल पार्न मकवानपुरले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

नगर अध्यक्ष गुरुप्रसाद सापकोटाले स्वागत गरेको बैठकले जिल्ला अध्यक्ष अधिकारीको संयोजकत्वमा ७ सय एक सदस्यीय मूल आयोजक समिति गठन गरेको छ। बैठकले स्वाभिमान यात्राका निमित्त ११ वटा उपसमिति गठन गरेको नगर अध्यक्ष सापकोटाले जानकारी दिनुभयो।