अनाधिकृतरूपमा पाँच महिनादेखि मोटरसाइकल प्रहरी नियन्त्रणमा

0
Shares

कृष्णउदास खनाल, वीरगन्ज
गत पाँच महिनादेखि प्रहरीले अनाधिकृतरूपमा नागरिकका दुई थान मोटरसाइकिल आफ्नो नियन्त्रणमा राखेको छ।
भदौ २२ गते वीरगन्जको बसपार्कमा प्रहरीले ९ सय ६६ ग्राम ब्राउन सुगरसहित मोटरसाइकल नियन्त्रणमा लिएको दाबी गरेको थियो। वीरगन्ज बसपार्कका प्रहरी नायब उपरीक्षक वैद्यनाथ दासको दाबी अहिले पनि यस्तै रहेको छ। तर प्रहरीले ति दुवै मोटरसाइकलका बारेमा कहीं कतै केही उल्लेख गरेको पाइँदैन।

पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ का जयराम कुमारको नाममा दर्ता रहेको ना२९प ७३४८ नम्बरको मोटरसाइकलमार्फत उनी आफैं शिक्षक सेवा आयोगको परीक्षा दिन पोखरा जाँदै थिए। वीरगन्जको बसपार्कमा मोटरसाइकल रोकी एक छेउमा मकै खाइरहेको अवस्थामा सादा पोसाकका मान्छेहरूले आफनो खल्ती जबरजस्ती छाम्न खोज्दा प्रतिवाद गरेको र त्यसकै रिसमा उनलाई ब्राउन सुगर हालेर फसाइएको रामका पिता बिहारी रामको दाबी छ। रामलाई नियन्त्रणमा लिएर प्रहरीले गाडीमा तीन घन्टा घुमाएपछि होटेलमा लगेर जोरजुलुम गरी मुचुल्का बनाएको उनले दाबी लिएका छन्।

प्रहरीले राम र उनका साथी बालकिशोर दास थारूलाई होटेलको कोठाबाट सामेतको दाबी लिएर अदालतमा मुद्दा गरेको देखिन्छ। प्रहरीले ब्राउन सुगरसहित नियन्त्रणमा लिएको मोटरसाइकललाई दशी प्रमाणका रूपमा पेस गरेको पनि छैन।प्रहरीले दासले चढेको बा५२प २५०४ को प्यासन प्रो मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ। प्रहरीका आधिकारीक दस्तावेजमा समेत मोटरसाइकलका बारेमा केही उल्लेख भएको पाइँदैन। प्रहरीले मोटरसाइलक बरामद नभएको जिकीर लिएको छ।

तर रामको नाममा रहेको मोटरसाइकल करिब साढे पाँच महिनादेखि वीरगन्ज बसपार्कको प्रहरी कार्यालयमा रहेको छ। नागरिकको धनको रक्षा गर्ने प्रहरीले अनाधिकृतरूपमा मोटरसाइकल कब्जामा लिएको विषयमा गृह मन्त्रालयले समेत चासो लिएको छ। मन्त्रालयले यो विषयमा अनुसन्धान गर्ने जनाएको छ। मोटरसाइकल प्रहरीको नियन्त्रणमा हुनु त्यसलाई दशीको रूपमा प्रस्तुत नगर्नु र घटनास्थल होटललाई देखाइएको कुराले प्रहरीको कार्यसम्पादनमा प्रश्न उठाउन थालिएको छ।

रामका पिता बिहारी रामले कार्यालयले लिखितरूपमा मोटरसाइकल आफूलाई बुझाउनुपर्ने शर्त राखेपछि प्रहरीले त्यसो गर्न मानेको छैन। उनले पर्साका प्रमुख जिल्ला अधिकारीलाई सम्बोधन गरेर जिल्ला प्रशासन कार्यालयमार्फत मोटरसाइकल उपलब्ध गराउन माग गरे पनि जिल्ला प्रशासन कार्यालय पर्साले त्यसो गर्न नमिल्ने भन्दै फर्काइदिएको उनले बताए। प्रहरीले भने कोही दाबी गर्न नआएकाले मोटरसाइकल राखिएको तर्क गरेको छ।