नगरप्रमुख र उपप्रमुखबीचको विवादले नगरसभा प्रभावित

0
Shares

सञ्जय कार्की, रौतहट
नगरप्रमुख र उपप्रमुखबीचको विवादले रौतहटको फतुवा विजयपुर नगरपालिकाको नगरसभा हुन सकेको छैन। आर्थिक वर्ष सकिएको ७ महिना बितिसक्दासमेत नगरसभा हुने छाँट देखिएको छैन। नगरप्रमुख गोपाल राय यादव र उपप्रमुख कान्ति देवी महतोले एक अर्कालाई भ्रष्टाचारीको संज्ञा दिएका छन्।

दुवैले अलगअलग घरभाडामा लिएर कार्यालय समेत सञ्चालन गर्दै आएका छन्। यति मात्र हैन रौतहटकै देबाही गोनाही, बौद्धिमाई, कटहरिया नगरपालिकामा पनि नगरसभा हुन सकेको छैन। निर्वाचित वडाध्यक्षहरूले योजनाका लागि रकम माग गरेपछि नगरसभा हुन नसकेको हो। देबाही गोनाही नगरपालिकाका प्रमुख धमेन्द्र पटेलले आफ्नो नगरमा वडाध्यक्षबीच सहमति भएकाले नगरसभाको प्रक्रियामा रहेको बताउनुभयो।

उता कटहरिया नगरपालिकामा भने गत आर्थिक वर्षको हिसाब अपारदर्शी भएको भन्दै नगरसभा हुन नसकेको निमित प्रमुख प्रशासकीय अधिकृत उदय देवकोटाले बताउनुभयो। उहाँले भन्नुभयो– ‘नगरकार्यपालिकाका सदस्यले हिसाब पारदर्शिताको माग राखेका छन्। बौद्धिमाई नगरपालिकामा पनि वडाध्यक्षहरूले योजनाका लागि अधिक रकम माग गरेकाले नगरसभा हुन नसकेको बताइएको छ। ४ वटा निर्वाचन क्षेत्र रहेको रौतहटको नगरसभा हुन नसकेको कटहरिया, फतुवा विजयपुर, देबाही गोनाही नगरपालिका ३ नम्बर क्षेत्रमा पर्दछ। जबकि ३ नम्बर क्षेत्र नेकपाका प्रभावशाली नेता प्रभु साहको पर्दछ। उनको क्षेत्रमा यसपटक ती तीन वटै नगरपालिकाको पुँजीगत खर्च शून्य रहेको छ।

स्वरोजगारमूलक लक्षित समूहको कार्यक्रमसमेत हुन सकेको छैन। उता फतुवाविजयपुर नगरपालिकाको नगरप्रमुख गोपाल यादव नेपाली कांग्रेसबाट विजयी हुन् भने उपप्रमुख कान्तिदेवी भने तत्कालीन माओवादीबाट विजयी भएकी हुन्। नगरप्रमुख गोपाल राय यादवले पत्रकार सम्मलेन गरेर कार्यपालिकामा बहुमतको दम्भ उपप्रमुखले देखाउँदा नगरसभामा ढिलाइ हुन गएको बताउनुभयो।

नगर उपप्रमुख कान्तिदेवी महतोले भने नगर प्रमुखले आफूहरूलाई बेवास्ता गरेको आरोप लगाउँदै आउनुभएको छ। उपप्रमुख कान्तिदेवी महतोले भने नदीजन्य पदार्थको निकासी करमा नगर प्रमुख यादवपक्षले हिनामिना गरेको दाबी गर्नुभयो। उता नगरप्रमुख यादवले भने उपप्रमुख कान्तिदेवी महतो पक्षधरका केही वडाध्यक्षले पहिला कर उठाएर रकम हिनामिना गरेको आरोप लगाउनुभयो।

उपप्रमुख पक्षका केही वडाध्यक्षले लालबकैया नदीको गिटी, बालुवा, ढुंगाको कर असुली हिनामिना गरेपछि उनीहरूलाई रसिद काट्न रोक लगाएको बताउनुभयो। नदीबाट उठेको ३३ लाख रुपियाँ बैंक खातामा दाखिला गरेको बताउनुभयो। विकासको दृष्टिकोणले पिछडिएको रौतहटको फतुवाविजयपुर नगरपालिकामा राजनैतिक खिचातानीका कारण विकास निर्माणको कार्य प्रभावित भएको छ।