जेष्ठ नागरिकलाई ५ हजारसहित सम्मान

0
Shares

सरोज यादव, विराटनगर
प्रदेश सरकार गठनको एक वर्ष पूरा भएको अवसरमा प्रदेश सरकारले ९० वर्ष पुगेका प्रदेश १ का ज्येष्ठ नागरिकलाई जनही ५ हजार नगदसहित घरमै पुगेर सम्मान गर्ने घोषणा गरेको छ।

विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार एक नम्बर प्रदेश सरकारको प्रथम वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले ९० वर्ष पुगेका ज्येष्ठ नागरिकलाई घरमै पुगेर नगद ५ हजारसहित सम्मान गर्ने घोषणा गरेका हुन्।

चालू वर्षमै ९० वर्षमाथिका ज्येष्ठ नागरिकलाई एकपल्ट नगद जनही ५ हजार रुपियाँ घरघरमै पुगेर प्रदान गर्दे सम्मान गर्ने उनले बताए। उनले एक नम्बर प्रदेशका १४ वटै जिल्लाका ९० वर्ष उमेर पुगेका जेष्ठ नागरिकको जिवनयापनमा केही भए पनि सहजता आओस् भन्ने उद्देश्यले सम्मान गर्र्न लागिएको उल्लेख गरे। मुख्यमन्त्री राईले संघीय सरकारबाट सबै संरचना समयमै हस्तान्तरण नहुँदा कानुन अभावमा सरकारले अपेक्षाअनुसार काम गर्न नपाएको बताए। उनले आगामी वर्षदेखि प्रदेशका इमानदार कर्मचारीलाई प्रोत्साहनसहित पुरस्कृत गर्ने जानकारी गराए।

प्रथम वार्षिकोत्सवलाई सम्बोधन गर्दै एक नम्बर प्रदेश प्रमुख डाक्टर गोविन्दबहादुर तुम्वाहाङगले असहज परिस्थिति भए पनि एक नम्बर प्रदेश सरकारको काम सन्तोषजनक भएको बताए। उनले आगामी दिनमा चुनौतीको सामना गर्दै सुखी नेपाली सम्बृद्ध प्रदेशका लागि निरन्तर काम गर्न प्रदेश सरकारलाई शुभकामना दिए। एक नम्बर प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीले कानुन र संरचना अभावको चुनौती झेलेर पनि २३ वटा कानुन निर्माण गर्न र संयन्त्र आफैं निर्माण गरेर परिचालन गर्न सफल हुनुले प्रदेश सरकार सफल भएको बताए।