सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्था देशकै उत्कृष्ट

14
Shares

प्रकाश पन्त, वीरेन्द्रनगर
सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्था देशैभरिका खानेपानी उपभोक्ता संस्थामा उत्कृष्ट हुन सफल भएको छ।
खानेपानीको संस्थागत सुधार तथा स्तर उन्नति कार्यक्रमलाई प्रभावकारीरूपमा कार्यान्वयन गर्दै उल्लेखनीय सुधार गरी उत्कृष्ट छनोट भएर संस्थाले कदरपत्र समेत प्राप्त गर्न सफल भएको हो।

नगर विकास कोषको आशिंक लागत असुली र सहभागितामा निर्माण भएका देशैभरिका साना शहरी खानेपानी आयोजनामध्ये सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्था उत्कृष्ट संस्थाको रूपमा छनोट हुनु सफल भएको छ।

कोषको ३१औं वार्षिक उत्सवको अवसरमा बिहीबार काठमाडौंमा भएको कार्यक्रममा शहरी विकास मन्त्री मोहमद इतियार राईले संस्थाका अध्यक्ष कुलमणि देवकोटालाई उत्कृष्ट संस्थाका रूपमा कदरपत्र प्रदान गरेका छन्।

प्राकृतिकरूपमा खानेपानीको स्रोतको अभावका बाजजुद खानेपानीको संस्थागत सुधार र स्तरोन्नतिलाई रचनात्मकरूपले अगाडि बढाएर उत्कृष्ट हुँदै कदरपत्र प्राप्त गर्न संस्था सफल भएको छ। यसले जिल्लाको प्रतिष्ठा पनि बढाउनुको साथै थप काम गर्ने हौसला मिलेको अध्यक्ष कुलमणि देवकोटाले बताए। उनले सुर्खेत उपत्यकाबासी जनतालाई सर्वसुलभरूपमा खानेपानी सेवा प्रवाह गर्न अझै थुप्रै काम गर्न बाँकी रहेको समेत बताए।

नगर विकास कोषको आशिंक लागत असुली र जनसहभागितामा आधारित देशैभरिका ७० वटा खानेपानी आयोजनामध्ये सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्था पनि एउटा हो। कार्यक्रममा सुर्खेत उपत्यका खानेपानी संस्थाको साथै दमक खानेपानी उपभोक्ता संस्था, पोखरा महानगरपालिका र धनगडी उपमहानगरपालिका पनि उत्कृष्ट कदरपत्र प्राप्त गर्न सफल भएका छन्।