हिरो गोल्ड कपमा नेपाल उपविजेता


नेपाल समाचारपत्र, काठमाडौं
नेपाली महिला फुटबल टोलीले भारतमा भएको हिरो गोल्डकप महिला फुटबल प्रतियोगितामा उपविजेतामै चित्त बुझाएको छ।
शुक्रबार उडिसास्थित भुवनेश्वरको कलिंगा रंगशालामा भएको फाइनल खेलमा नेपाल म्यानमारसँग ३–१ गोलअन्तरले हारेको हो। यो हारसँगै नेपाली महिला फुटबल टोलीले अन्तर्राष्ट्रिय उपाधि जित्ने सपना पूरा हुन सकेन। फाइनल खेलमा पहिलो हाफमा नेपालले म्यानमारलाई कडा चुनौती दिएको थियो। ३५औं मिनेटमा यी यी ओले गोल गर्दै नेपाललाई १–० ले पछाडि पारेकी थिइन्। तर, नेपाली खेलाडीले त्यसको जवाफ पहिलो हाफको इन्जुरी समयमा दिएका थिए। मन्जलीकुमारी योन्जनले गोल गर्दै नेपाललाई १–१ बराबरीमा पु¥याएकी थिइन्। पहिलो हाफ १–१ बराबरीमा सकिँदा दोस्रो हाफमा नेपालले स्पष्ट नतिजा निकाल्ने आश गरिएको थियो। तर, विन थिइंगी टुनले ५३औं मिनेटमा गोल गरेर म्यानमारलाई २–१ को स्थितिमा पु¥याइन्।
नेपाल पछि परेको स्थितिमा म्यानमार खेलमा हाबी भएको थियो। फलस्वरूप यी यी ले ६३औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेकी थिइन्। यो गोलले नेपाल ३–१ ले पछाडि परेको थियो। यहीबाट नेपालको उपाधि जित्ने आश पूरै समाप्त भएको थियो। नेपालले यस प्रतियोगितामा म्यानमारसँगै ३–० ले हारेर कमजोर शुरुआत गरेको थियो। तर, दोस्रो खेलमा आयोजक भारतलाई उसकै भूमिमा २–१ ले हराएर फाइनल पुग्ने छनक देखायो। समूहको अन्तिम खेलमा इरानलाई ३–० ले हराएपछि नेपालको फाइनल यात्रा तय भएको थियो। सो प्रतियोगिता पहिलोपटक आयोजना भएको हो। जसमा ४ टोलीको सहभागिता रहेका थिए।

नेपालले सो प्रतियोगितामा अर्को महिना विराटनगरमा हुने साफ महिला फुटबल च्याम्पियनसिपको तयारीका लागि सहभागिता जनाएको थियो। यस्तै नेपालले अप्रिलमा म्यानमारमा हुने ओलम्पिक–२०२० अन्तर्गत दोस्रो चरणकोे छनोटमा प्रतिस्पर्धा गर्नेछ। जसमा नेपालसहित भारत, म्यानमार र इन्डोनेसियाबीच कडा प्रतिस्पर्धा हुनेछ।