मध्यपहाडी लोकमार्ग दैनिक ६ घण्टा बन्द

0
Shares

नेपाल समाचारपत्र, पर्वत
निर्माणाधीन मध्यपहाडी लोकमार्ग दैनिक साढे छ घण्टा बन्द हुँदै आएको छ। सडक विस्तारका लागि पर्वत र कास्कीको सिमाना नयाँ पुलदेखि कुश्मा नगरपालिका–१ अर्मादीसम्मको खण्डमा बुधबारदेखि दैनिक साढे छ घण्टा बन्द भएको हो। बिहान १० बजेदेखि दिउँसो साढे २ बजेसम्म र साढे चार बजेदेखि साँझ ७ बजेसम्म सडक बन्द गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिनुभयो।

लोकमार्गको डिमुवादेखि बेतनीबीचको माहुरी भीर, चुवाको भीर र अर्मादीको भीरमा सडक फराकिलो बनाउने काम गर्न सडक बन्द गर्न लागिएको उहाँले बताउनुभयो। मध्यपहाडी सडक निर्माण आयोजनाअन्तर्गत लामा कन्ट्रक्सन प्रालिले उक्त खण्डमा निर्माणको काम तीव्र पारेको छ। ‘महभीर, चुवा र अर्मादीको भीरमा सडक फराकिलो बनाउन पहरा कटान गर्नुपर्ने भएकाले दैनिक साढे छ घण्टा सडक बन्द गर्ने निर्णय गरिएको हो।’ आयोजना प्रमुख आशिष थापा मगरले भन्नुभयो।

त्यस्तै महाभीरको वैकल्पिक मार्ग बनाउनका लागि मोदी गाउँपालिका र चुवामा वैकल्पिक मार्ग बनाउन कुश्मा नगरपालिका र तल्लो मोदी जलविद्युत् आयोजनासँग समन्वय गर्ने तयारीसमेत भएको छ। आयोजनाको पर्वतको प्रवेशद्वारदेखि मालढुंगासम्मको २३ दशमलव ७६९ किलोमिटर स्तरोन्नतिको काम लामा कन्ट्रक्सन प्रालिले जिम्मा लिएको छ।

कम्पनीले ८३ करोड ९८ लाखमा सो खण्ड स्तरोन्नतिको कामको ठेक्का लिएको छ। अहिलेसम्म ३५ प्रतिशत काम सकिएको कम्पनीका प्रोजेक्ट म्यानेजर गोविन्दप्रसाद भुसालले जानकारी दिनुभयो। मध्यपहाडी लोकमार्ग आयोजनाले ७२ किलोमिटर लामो पोखरा बागलुङ खण्डलाई नयाँ स्वरूपमा ढाल्ने गरी मर्मत सम्भार तीव्र पारिरहेको छ।