सैनिक मुख्यालय प्लास्टिकमुक्त क्षेत्र घोषणा

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
नेपाली सेनाको मुख्यालयलाई प्लास्टिकमुक्त क्षेत्र घोषणा गरिएको छ। मुख्यालयमा आयोजित एक विशेष कार्यक्रमका बीच प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनाको मुख्यालयलाई प्लास्टिकमुक्त क्षेत्र घोषणा गर्नुभएको छ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै थापाले प्लास्टिकजन्य वस्तुको प्रयोगले वातावरणमा पार्ने नकारात्मक प्रभावका बारे स्पष्ट भई प्लास्टिकको प्रयोगलाई सांगठनिकरुपमै निरुत्साहित गर्न जंगी अड्डाबाट शुरू गरिएको यस अभियानलाई नेपाली सेनाका सम्पूर्ण युनिटले अभियानका रुपमा अगाडि बढाइ ब्यारेक इलाकालाई प्लास्टिकमुक्त क्षेत्र कायम राख्न निर्देशन दिनुभयो।

कस्ता प्लास्टिकजन्य वस्तुलाई निषेधित गर्ने र कस्तालाई पुनः प्रयोगमा ल्याउन सकिन्छ भन्ने कुरामा समेत स्पष्ट भई उचित व्यवस्थापनको लागि सम्बन्धित विभागलाई उहाँले निर्देशन दिनुभयो।

प्रधानसेनापति कमान्ड मार्गनिर्देशन–२०७५ मा रहेको वातावरण तथा पर्यावरणमा नेपाली सेनाको प्रतिबद्धताअनुसार शुरुआत गरिएको यस प्लास्टिक निषेधित क्षेत्र कार्यक्रममा उपस्थित रहनुभएका नेपाली सेनाका रथीवृन्द, अधिकृत र अन्य दर्जाहरूले जंगी अड्डा परिसरमा सरसफाइसमेत गरेका थिए।