बाइलिङ्गलका विद्यार्थी वनस्थलीमा

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
सदियौंदेखिको नेपाल–चीनबीचको सम्बन्ध हालसम्म पनि कायमै रहेको छ। वर्षैपिच्छे नेपाल भ्रमणमा आउने चिनियाँ पर्यटकको संख्यामा बढोत्तरी छ।
शिक्षा तथा संस्कृतिको आदानप्रदान गर्नमा यति व्यस्त छन् चिनियाँ। प्रमुख शहरका गल्ली–गल्लीमा चिनियाँ पर्यटक भेट्न सकिन्छ। यस्तैमध्येको एक टोली आफ्नो शिक्षा तथा संस्कृति आदानप्रदान गर्न यति बेला सिद्धार्थ वनस्थलीमा व्यस्त छ।

सो टोली चीनको छिन्ताओ कर्नरस्टोन बाइलिङ्ग स्कुलबाट नेपाल आएको हो। उनीहरूको उद्देश्य सार्वजनिक स्कुलमा शिक्षाको स्तर कस्तो छ भन्नेमा केन्द्रित रहेको छ। टोलीलाई एक कार्यक्रमका बीच सिद्धार्थ वनस्थलीका प्रिन्सिपल रुपक राजवंशीले स्वागत गर्नुभएको थियो।

सातदिने भ्रमणमा नेपाल आएको टोलीको नेतृत्व मिस जेसीले गर्नुभयो। नेपालका विद्यार्थी असल तथा अनुशासित भएको उहाँको ठम्याइ छ। जेसी भन्नुहुन्छ– ‘नेपाल र चीनबीच शिक्षामा समानता छ। नेपालका विद्यार्थी असल रहेछन्। ’

यस्तै भनाइ छ अर्का कार्यक्रमका कोअर्डिनेटर कृष्ण लीको पनि। उहाँ भन्नुहुन्छ– ‘यहाँको शिक्षण विधि पनि उत्कृष्ट रहेछ। शैक्षिक क्रियाकलाप विद्यार्थी लक्षित छ। रमाइलो लाग्यो।’

सिद्धार्थ वनस्थली र चीनको विभिन्न विद्यालयबीच वर्षैपिच्छे संस्कृति तथा शिक्षासम्बन्धी अन्तरक्रिया तालिम, गोष्ठी तथा सेमिनार हुने गरेको छ भने नेपालबाट पनि सिद्धार्थ वनस्थलीले शिक्षकलाई चीनमा तालिम लिन पठाउने गरेको प्रिन्सिपल राजवंशीले बताउनुभएको छ।