मारुनीको शुभ साइत

0
Shares

नवल नेपालको निर्देशनमा बन्न लागेको फिल्म मारुनीको शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमबीच शुभ मुहूर्त गरिएको छ। आगामी फागुन १३ गते सुटिङ फ्लोरमा जाने फिल्मको राजधानीको कमलादीस्थित गणेश मन्दिरमा पूजा गर्दै शुभ मुहूर्त गरिएको हो।

कार्यक्रममा कृष्ण गौतमले क्ल्याप हानेका थिए भने साम्राज्ञी राज्यलक्ष्मी शाहले मुहूर्त सर्टको निर्देशन गरेकी थिइन्। फिल्ममा पुष्पल खड्का, साम्राज्ञी राज्यलक्ष्मी र नवनायिका रेविका गुरुङले मुख्य भूमिकामा अभिनय गर्नेछन् भने बालकलाकारका रूपमा कुशाग्र भट्टराई, स्वर्णिम पौडेल, सेफिअन्स लम्साल र साइरा आचार्यले अभिनय गर्दै छन्।

फिल्मका नायक नायिका पुष्पल खड्का र रेविका गुरुङले पनि चलचित्रको कथावस्तु राम्रो रहेको बताए। नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले कथा मन परेकाले यसमा काम गर्नका लागि उत्साहित भएको बताइन्। ‘म पहिलोपटक कुनै फिल्मको शुभसाइतमा मन्दिर आएकी छु। मन्दिर आएपछि सबै काम राम्रो हुन्छ भन्ने लागेको छ। यो फिल्म पनि राम्रो बन्नेछ’ –साम्राज्ञीले भनिन्। निर्मात्री पुनम गौतमले फरक कथामा फिल्म निर्माण गर्न लागेको दाबी गरिन्। ‘हामी एउटा फरक कथामा चलचित्र निर्माण गर्दै छौं। दर्शकको मायाले यो फिल्म सफल हुनेमा विश्वस्त छु’ –उनले भनिन्। निर्देशक नवल नेपालले फिल्मले मनको कथा बोल्ने बताए। आगामी वर्षको भदौ १३ गते रिलिज गर्ने गरिने फिल्म पुनम इन्टरटेनमेन्टको ब्यानरमा पुनम गौतमले निर्माण गर्न लागेकी हुन्। दर्शना केसी सहनिर्माता रहेकी छिन्।