निरुताको नृत्य २५ वर्षअघि भुवनसँग अहिले अनमोलसँग

0
Shares

अभिनेता, निर्माता तथा निर्देशक भुवन केसीको बहुचर्चित फिल्म क्याप्टेनको अर्को गीत सार्वजनिक गरिएको छ। शुक्रबार राजधानीमा आयोजित एक समारोहबीच क्याप्टेनको लोक फ्लेवरको गीत कर्ली कर्ली कपाल तिम्रो सार्वजनिक गरिएको हो।

गीतमा अभिनेता बाबुछोरा भुवन केसी र अनमोल केसीका साथमा निरुता सिंहले कम्मर मर्काएकी छिन्। अनमोल र निरुता भिडियोमा शुरूमै देखिन्छन् भने दक्षिणा जोडी भुवन केसी र निरुता सिंह केही पछि देखिन्छन्। भुवन र अनमोलसँग निरुताको कम्मर मर्काइ फिल्मका लागि गतिलो आकर्षण बन्न सक्छ। रेनशा वान्तवा राईको कोरियोग्राफी रहेका गीतमा मेलिना राई र एसडी योगीले स्वर भरेका छन्। एसडी योगी र सुशान्त गौतमको संगीत रहेको गीतका रचनाकार हर्क साउद र मनीष ढकाल हुन्। इशान नाम गरेको पात्रले खेल जितिसकेपछि सेलिब्रेसनको क्रममा फिल्ममा यो गीत पर्दामा आउने फिल्मका निर्देशक दिवाकर भट्टराईले जानकारी गराए। आगामी फागुन १७ गते अल नेपाल रिलिज हुने फिल्ममा अनमोलसँगै उपासना सिंह ठकुरी, प्रियंका एमभी, सुनिल थापा, प्रशान्त ताम्राकार, विल्सन विक्रम राईलगायतले अभिनय गरेका छन्। एक मध्यमवर्गीय युवकले राष्ट्रिय टिमको फुटबल खेलाडी बन्न गरेको संघर्षको कथामा आधारित फिल्ममा भुवन केसीको निर्माण, सामीप्यराज तिमल्सिनाको लेखन र सुदीप बरालको छायांकन रहेको छ।

कार्यक्रममा एन्फाका पदाधिकारीहरूले फिल्मले फुटबलको प्रवद्र्धनमा योगदान गर्ने विश्वास व्यक्त गरे। फिल्मले फुटबल खेलाडीलाई हौसला प्रदान गर्ने विश्वास राष्ट्रिय फुटबल टिमका क्याप्टेन विराज महर्जनले व्यक्त गरे। अभिनेतृ निरुता सिंहले बाबुछोरासँगै काम गर्ने अवसरलाई अविष्मरणीय क्षणका रूपमा चर्चा गरिन्। ‘२५ वर्षअगाडि भुवन दाइसँग पहिलोपटक काम गरेको थिएँ। आज उहाँकै छोरासँग काम गर्न पाउनु एउटा इतिहास नैै हो। यो गीतमा अभिनय गर्ने अवसर दिएकामा अनमोल र भुवन दाइ दुवैलाई धन्यवाद’ –निरुताले भनिन्। नायक अनमोल केसीले क्याप्टेनको छायांकनको क्रममा निकै दुःख पाएको बताए। ‘मेरा लागि यो ९० मिनेटको खेल थिएन। दमकजस्तो गर्मीको ठाउँमा दिनको ९ घन्टासम्म दौडिन पथ्र्यो। जसले गर्दा म कैयौंपटक फेन्ट पनि भएँ’, उनले सुनाए– ‘यो फिल्म अरु निर्माताले बनाएको भए १० करोड बजेट लाग्थ्यो होला। मेरो बुबाको सम्बन्धका कारण हामीले कम बजेटमा सकेका हौं।’