सरकारले जनअपेक्षाअनुसार काम गर्न सकेन

0
Shares

भक्तपुर, (नेस)
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले जनअपेक्षाअनुसार काम गर्न नसककेको बताउनुभएको छ। नेपाली कांग्रेस जिल्ला समिति भक्तपुरले शुक्रबार नयाँ ठिमीमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै सभापति देउवाले सरकारले जनचाहनाअनुरूप विकासमा फड्को मार्नुपर्ने भए पनि कुरामा गरेको आरोप लगाउनुभयो।

उहाँले भन्नुभयो– ‘सरकार गति र विधि तथा संवैधानिक प्रक्रियाबाट विमुख छ। ओली सरकारले गफ गर्नेबाहेक केही काम गरेन तर भाषण गरेर मात्र देश बन्दैन, गफले देश बन्ने भए पहिल्यै बनिसक्थ्यो।’ प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति देउवाले गफ र टुक्काले देश चल्न नसक्ने भन्दै सरकारका कामले गति नलिएको र सरकार विधिसम्मत ढंगले नचलेको बताउनुभयो।

सभापति देउवाले सरकारले एक वर्षको अवधिमा जिम्मेवारीका साथ महŒवपूर्ण र दूरगामी काम गर्न नसकेको बरु चिकित्सा शिक्षा विधेयक जब्बरजस्ती पास गरेको, निर्मला पन्त हत्याको दोषीलाई कारबाही गर्न नसकेको बताउनुभयो।

कर वृद्धि, महँगी र भ्रष्टाचार र असुरक्षा सरकारको जनउपहार भएको बताउँदै चौतर्फीरूपमा सरकार असफल र अलोकप्रिय हुँदै गएको बताउनुभयो। जताततै अशान्ति, भ्रष्टाचार र बलात्कारले जनतालाई जीवन धान्न मुस्किल भएको भन्दै उहाँले सरकारको अप्रजातान्त्रिक कामको गुड्डी धेरै दिन नटिक्ने बताउनुभयो। सरकारको एकवर्षे कार्यकाल निराशाजनक भएको भन्दै उहाँले यो अवधिमा सरकारले बाटो पहिल्याउन नसकेको टिप्पणी गर्नुभयो।