हिउँमै रमाउँछन् पर्यटक: हिमपातले मनाङ अस्तव्यस्त

0
Shares

थुतेन लामा, मनाङ
हिमपातले मनाङ अझै अस्तव्यस्त छ। हिमपात रोकिए पनि पाखापखेरा सेताम्मै छ। बाटोघाटो सडक र गाउँबस्ती हिउँका ढिक्का बनेका छन्। यिनै सेताम्मे बाटोमा रंगीचंगी फूलझैं लहर देखिन्छन् पर्यटकका ताँती। झण्डै माघ महिनाभरि नै हिमपात भइर≈यो भन्दा पनि हुन्छ मनाङमा। सवारीसाधान अझै आवागमन हुन सकेको छैन।

यहाँका मानिसले जाडो सिजनका लागि भण्डारण गरी राखेका खाद्यान्न सकिएको छ। हिमपात हुँदै गर्दा पनि विदेशी पर्यटकको भने आवागमन निरन्तर भई नै रहेको छ। अन्नपूर्ण संरक्षण क्षेत्र धारापानी चेकपोस्ट मनाङका अनुसार दैनिक २० देखि २५ जना विदेशी पर्यटक मनाङ भित्रने गरेका छन्।
‘खाद्यान्न अभावको सिर्जना हँुदै गर्दा होटल व्यवसायीलाई पाहुनालाई के खुवाउने भन्ने चिन्ता पर्न थालेको छ। होटल व्यवसायीदेखि किराना पसल, कर्मचारी र सर्वसाधारण हिमपातको चपेटामा परेका छन्’, प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाले बताउनुभयो– ‘हिउँ पग्लेर सवारीसाधन आवागमन होला भन्दाभन्दै महिनौं बित्यो तर हिउँ पग्लने दिन आएन।’

पहिले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको पहलमा हिउँ फाले पनि ठूलो हिमपातले गर्दा सम्भव भएन। अहिले तल्लो मनाङको दानाक्युसम्म सवारीसाधान आवागमन भएको छ। माथिल्लोे मनाङ तिमाङ, चामेलगायतका ठाउँमा अझै सवारीसाधन सुचारु हुन नसकेको प्रमुख जिल्ला अधिकारी देवकोटाले बताउनुभएको छ।

‘हिउँ पर्न रोकिए पनि सवारीसाधन सुचारु नहँुदा सर्वसाधारणलाई मर्का त परेको छ नै तर पर्यटकलाई भने हिँडडुल गर्न सहज भएको छ’, पर्यटक गाइड रमेश अधिकारीले बताउनुभयो– ‘यो ठाउँ भनेको पदयात्रामा आउने ठाउँ भएकाले सवारीसाधनले पदयात्रीलाई डिस्टब हुने गथ्र्यो।’

हिउँले हिँडडुलमा कठिनाइ भए पनि धूवाँ–धूलो र सवारीसाधनको आवजले पद यात्रीलाई डिस्टब नभएको पर्यटन गाईड उहाँको भनाइ रहेको छ। उहाँका अनुसार पदयात्रीहरू यात्रामा रमाइरहेका छन्।

अन्नपूर्ण संरक्षण क्षेत्र मनाङका प्रमुख बाबुलाल तिरुवका अनुसार हाई अल्टिटियुडमा आउँदा सवारीसाधनको प्रयोग उति राम्रो नहुने बताउनुभएको छ। उहाँका अनुसार विगतका दिनमा भन्दा अहिले पछिल्लो समयमा विदेशी पर्यटकमा भन्दा आन्तरिक पर्यटकलाई हाई अल्टिटियुड सिकनेस देखिएको हो। यसको प्रमुख कारण सवारीसाधनको प्रयोग हो, तल्लो लेवलदेखि सीधै माथिल्लो भेगमा पुग्दा समस्य हुने बताउनुभयो। तर, विदेशी पर्यटक पैदल यात्रा गर्दै अल्टिटियुड पचाउँदै आउने भएकाले अल्टिटियुड सिकनेसको समस्य कमैमा हुने बताउनुभयो।

देशैभरिको भीषण हिमपातले जिल्लाबासी, पशुचौपायमा कठिनाइ त छँदै छ। पर्यटक आवगमनमा भने कुनै कमी छैन। हिमपातमा रमाउँदै सुरक्षित यात्रा गरिरहेका छन्। पछिल्लो समयमा हिउँ खेल्नकै लागि पनि आन्तरिक पर्यटक मनाङ पुग्ने गरेका छन्। अन्नपूर्ण संरक्षण क्षेत्र धारापानी चेक पोस्टका पर्यटन सहायक आशिष विश्वकर्माले भन्नुभयो– ‘पहिले हिउँ देख्न र हिउँ छुन माथिल्लो मनाङ पुग्नुपथ्र्यो तर अहिले मनाङको तल्लो भेगमा नै प्रसस्त हिउँ छ। त्यसैले हिउँ छुना र खेल्नका लागि आन्तरिक पर्यटक आएका हुन्।’ अहिले हिउँमा रमाउँदै यात्रा गरिरहेका विदेशी पर्यटक बटोभरि छन् भने हिउँ खेल्दै रमाइरहेका आन्तरिक पर्यटक पाखाभरि छन्। हिमपातले सर्वसाधारलाई दुःख र पर्यटकलाई आनन्द दिएको छ।