पञ्चवर्षीय प्रादेशिक योजना बनाउन राय संकलन

0
Shares

गणेश घिमिरे, इलाम
प्रदेश नम्बर १ अन्तर्गत प्रदेश योजना आयोगले प्रथम पञ्चवर्षीय आवधिक योजना निर्माणका लागि कार्य शुरू गरेको छ। आयोगले योजनाको प्रारम्भिक आधारपत्र तयार पारेको छ। प्रारम्भिक आधार पत्रलाई मूर्त रूप दिनका लागि आयोगले प्रदेश १ का विभिन्न जिल्लामा गएर योजनाको आधार पत्रमा राय संकलन शुरू गरेको छ।

स्थानीय तहका जनप्रतिनिधि, सम्बन्धित जिल्लाका पार्टीका प्रमुख एवं प्राध्यापक तथा बुद्धीजीवीहरूको भेलाबाट राय संकलन गर्ने काम शुरू गरेको हो। सोही क्रममा शुक्रबार इलाम सदरमुकाममा इलाम र पाँचथरका स्थानीय तहका अध्यक्ष–उपाध्यक्ष, जिल्ला समन्वय समितिका प्रमुख–उपप्रमुखसहित विभिन्न तहका प्रमुखहरूको भेला गराएर राय संकलन गरेको छ। प्रदेश योजना आयोगले राय संकलन गर्ने काम २८ गते ओखलढु·ामा सोलुखुम्बु र खोटाङका जनप्रतिनिधि, प्रमुख–उपप्रमुख, सोही दिन धनकुटामा तेह्रथुम, भोजपुर, संखुवासभाका अध्यक्ष–उपाध्यक्ष, प्रमुख–उपप्रमुख, १ गते सुनसरीमा उदयपुर सुनसरी जिल्लाका अध्यक्ष–उपाध्यक्ष, प्रमुख–उपप्रमुखबाट राय संकलन लिइसकेको छ। अब फागुन ५ गते मोरङमा झापा, मोरङ र ताप्लेजुङका अध्यक्ष–उपाध्यक्ष, प्रमुख–उपप्रमुखहरूबाट राय संकलन गर्नेछ। प्रदेश–१ का १४ वटै जिल्लाका प्रतिनिधिबाट आएको राय सुझावलाई आयोगले तयार पारेको योजनाको प्रारम्भिक आधारपत्रमा थप्दै, हटाउनुपर्ने कुराहरू हटाएर प्रादेशिकस्तरका विषयक विज्ञलाई बुझाउँदै फागुन महिनाभित्रमा पञ्चवर्षीय योजनाको विस्तृत आधारपत्र तयार पार्ने आयोगका उपाध्यक्ष सुबोधराज प्याकुरेलले बताए।

‘फाइनल भएको आधारपत्र प्रदेश विकास परिषद्बाट पारित भएपछि सोही आधारपत्रको आधारमा प्रादेशिक योजना शुरू गरिनेछ’, प्याकुरेलले भने– ‘आयोगले तयार पारेको प्रारम्भिक आधारपत्रमा प्रमुखत प्रदेशले बनाउने योजनामा दुई वा दुईभन्दा बढी स्थानीय तहलाई छुने किसिमको बनाउनुपर्ने, राष्ट्रिय योजनाले बनाएको खाकासँग प्रादेशिक योजना बनाइनुपर्ने तथा प्रादेशिक योजनाले बनाएको खाकासँग स्थानीय तहले योजना बनाउनुपर्ने कुरामा बढी जोड दिइएको छ।’