काभ्रेमा काठको ‘सिजनिङ्ग र प्रशोधन’ हुदै

0
Shares

मोतीराम तिमल्सिना, काभ्रे
प्रदेश ३ को बन, वातावरण तथा पर्यटन मन्त्रालयले काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली जिल्लामा रहेको बन क्षेत्रबाट उत्पादन हुने काठलाई सिजननिङ्ग र प्रशोधन गर्ने भएको छ ।

उपभोक्ताहरुले प्रयोग गर्दा तथा बहुमुल्य सामाग्रीका रुपमा काठका सामाग्रीहरु विदेश निर्यात हुँदा सिजनिङ्ग र प्रशोधन गरिएका काठहरुबाट बनेका सामाग्रीहरु मात्रै निर्यात गराउने उदेश्यले उक्त कार्यक्रम शुरु गर्न लागिएको प्रदेश मन्त्री अरुण नेपालले बताए । सामुदायिक बन तथा नीजि क्षेत्रमा रहेका काष्ठजन्य पदार्थलाई सिजनिङ्ग गरी प्रशोधन गर्न सरकारले कार्यक्रम र बजेट दुबै छुट्टयाएको बताए ।

‘नेपाली काठहरु कमजोर हुनुको पछाडी सिजनिङ्ग र प्रशोधन गरिने गरिएको छैन’–मन्त्री नेपालले भने–‘केहि केहि स्थानमा नीजि क्षेत्रबाट भएको सिजनिङ्ग र प्रशोधनले सबै धान्न सकिएको छैन ।’ सामुदायिक बनमा आम्दानी गरी समुदायलाई बलियो बनाउन यसलाई उद्योगका रुपमा विकास गर्न सबै पक्षको सहयोग आवश्यक रहेको मन्त्री नेपालले बताए ।

सरोकारवालाहरुको छलफलमा मन्त्री नेपालले काभ्रे र सिन्धुपाल्चोकका लागि मात्रै सिजनिङ्ग र प्रशोधनका लागि झण्डै साढे ४ करोड रकम विनियोजन गरिएको बताए । उक्त रकमले चालु वर्ष भित्रै सिजनिङ्ग र प्रशोधन उद्योग शुरु गर्ने र आयमुलक बनाउने तयारी गरिएको छ । सन् २०११ मा गरिएको अध्ययन अनुसार २ करोड रुपैया लागतमा सिजनिङ्ग र प्रशोधन उद्योग स्थापना गर्न सकिने अवस्था थियो । १० रोपनी जग्गा १ करोड रुपैयमा खरिद गर्दा १ करोड रुपैया उद्योगमा लगानी गर्ने अध्ययन अहिले पुरानो भए पनि सिजनिङ्ग र प्रशोधनबाट उत्पादन भएका काठहरुको खरिद गर्ने ग्यारेण्टी भएको अवस्थामा सहज हुने डा. शम्भु दंगालले बताए । बन विभाग मार्फत गरिएको उक्त अध्ययन कार्यान्वयनको चरणमा जाने अवस्थामा प्राविधिक कारणले रोकिएको उनले बताए ।

पाँचखाल वा धुलिखेलमा उद्योग स्थापना गरी काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक लगायत दोलखा, सिन्धुली, रामेछाप जिल्लाबाट समेत काठ ल्याउन सकिने तयारी गरिएको थियो । बार्षिक २० हजार वटा विजुलीका पोल उत्पादन हुँदा पाँच वर्षमा लगानी उठाएर पनि मुनाफा हुने अध्ययन गरिएको थियो । २५ प्रतिशत मुनाफा हुने अध्ययनले देखाएको डा. दंगालले बताए । सन् २०२६ सम्ममा काभ्रे र सिन्धुपाल्चोकका बनहरुबाट काठ ल्याउन सकिने र पछि त्यसलाई थप ब्यवस्थापन गर्दै उद्योग संचालन गर्न सकिने अवस्था थियो । कार्यक्रममा दोलखबाट बार्षिक ३ लाख घन फिट, रामेछापबाट ५० हजार घन फिट, सिन्धुलीबाट ४ लाख घन फिट, काभ्रेबाट ४ लाख घन फिट र सिन्धुलीबाट १ लाख ५० हजार घन फिट काठ सिजनिङ्ग र प्रशोधनका लागि ल्याउन सकिने छ ।

कार्यक्रममा प्रदेश सचिव शिव वाग्लेले उद्योगले समुदायमा आय आर्जन बढाउन, रोजगार सिर्जना गर्न उद्योग स्थापना गर्ने तयारी गरिएको बताए । नेपाल नगरपालिका संघका अध्यक्ष अशोक ब्याञ्जुले उद्योगबाट फाईदा हुने ग्यारेण्टी हुन सकेको अवस्थामा लगानीको अभाव नहुने बताए । धुलिखेलमा उद्योग स्थापना गर्दा सहयोग गर्ने बताउँदै लगानी मैत्री वातावरण बनाउन मुनाफा र उद्योगबाट हुने दिगोपनाको ग्यारेण्टी हुनु पर्ने बताए ।

कार्यक्रममा समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसी, टिसिएनका महाप्रवन्धक राजु लौडारी, वन निर्देशक सुधिरकुमार कोईराला, दोलखा, सिन्धुपाल्चोक र काभ्रेका सरोकारवालाहरु, डिभिजन वन अधिकृत बद्रिकुमार कार्की, सामुदायिक बन उपभोक्ता महासंघ प्रदेश ३ का अध्यक्ष विनोद सापकोटा, नेपाल बन पैदावार ब्यवसायी संघका अध्यक्ष माधवमणी हुमागाई लगायतले नीजि क्षेत्र उद्योगका लागि तयार भएको बताएका थिए ।