नेपाल समाचारपत्र
काठमाडौँ, । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राडा. चन्द्रमणि पौडेलले विज्ञान तथा प्रविधिको विकास र विस्तार गरी मुलुकलाई समृद्ध बनाउन राज्यले यस क्षेत्रमा पर्याप्त लगानी गर्नुपर्ने बताउनुभएको छ ।
साउथवेस्टन स्टेट कलेज वसुन्धरा काठमाडौद्वारा आयोजित नवौं साउथवेस्टन विज्ञान प्रदर्शनी तथा करियर इन म्यानेजमेन्ट कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि अध्यक्ष पौडेलले नेपालभित्र स्तरीय विज्ञान प्रविधिमूलक शैक्षिक वातावरण तयार नभएकाले प्रत्येक वर्ष हजारौं विद्यार्थीहरू र करोडौं रुपियाँ बिदेसिरहेको बताउनुभयो ।
अध्यक्ष पौडेलले यस्ता प्रदर्शनी तथा प्रयोगात्मक अभ्यासले विद्यार्थी र मुलुकमा विज्ञानको विकास र विस्तारप्रति गम्भीर ध्यानाकर्षण गर्नेछ भन्दै उहाँले नेपालले अब विकासका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने प्रकारका शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष इन्जिनियर बासुदेव विष्टले विज्ञान तथा प्रविधिको विकासमा क्याम्पसले गरेको प्रयासमा निजी क्षेत्रका साथै सरकारले पनि यथेष्ट सहयोग गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
उहाँले विद्यार्थीको नवीनतम आविष्कारलाई सहयोग पु¥याउने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको जानकारी दिनुभयो । विज्ञान तथा प्रविधिको क्षेत्रमा फड्को नमारेसम्म मुलुकले प्रगति गर्न नसक्ने भएकोले सरकारले यसलाई प्राथमिकतामा राख्नुपर्नेमा पनि जोड दिनुभयो ।
साउथवेस्टन स्टेट कलेजका कार्यक्रम निर्देशक टीकाराम (गणेश) महराले गणुस्तरीय, मूल्यमान्यता तथा आवश्यकता अनुरूपका शिक्षा अनुसन्धानका आधारमा उपलब्ध गराउनु कलेजको उद्देश्य भएको उल्लेख गर्दै यसैका लागि प्रदर्शनी आयोजना गरिएको बताउनुभयो ।
टोखा नगरपालिकानका वडा नं. ७ का वडाध्यक्ष नरोत्तम रानाले विद्यार्थीलाई विश्वव्यापीरूपमा प्रतिस्पर्धा गर्नसक्ने बनाउनु नै आफूहरूको लक्ष्य भएको भन्दै नर्सरीदेखि पिएचडीसम्मको पठनपाठन उपलब्ध गराएर साउथवेस्टन स्टेट कलेजले शैक्षिक संस्था परिवर्तन गरिरहनुपर्ने झन्झटबाट विद्यार्थीलाई मुक्ति दिएको र विश्वविद्यालयको पूर्वाधार निर्माणमा कलेज अगाडि बढेको जानकारी दिनुभयो ।
कलेजका अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुख एवम् विज्ञान प्रदर्शनी कार्यक्रम संयोजक सरिता शाक्य प्रधानले साउवेस्टन कलेजको स्थापनाकालदेखि नै विज्ञान प्रदर्शनी गर्दै आएको र यो नवौं श्रृङ्खला रहेको बताउनुभयो ।
विभिन्न कलेजका युवा वैज्ञानिकहरूलाई एकै स्थानमा जमघट गराएर आपसी प्रतिस्पर्दाको वातावरण तयार गर्नु र उनीहरूको सीप र जागरलाई अरु समक्ष प्रदर्शन गराउनु यो कार्यक्रमको मुख्य उद्देश्य रहेको कुरा उहाँले बताउनुुभयो ।
प्रदर्शनीमा साउथवेस्टन स्टेट कलेज, गोल्डनगेट कलेज, ट्रिनिटी कलेजलगायत विभिन्न स्कुल तथा कलेजहरूको सहभागिता रहेको छ । कार्यक्रममा हेलिकोप्टर, हाइडोलिक क्रेन, भोटिङ मेसिन, इकोसिस्टम, रोबोटिक, एन्टी रेपिङ मेसिन प्रविधिमैत्री प्रदर्शनीका प्रमुख आकर्षण रहेका छन् ।
विहिबारदेखि सुरू भएको दुई दिने प्रदर्शनी वसुन्धरास्थित साउथवेस्टन स्टेट कजेल परिसरमा आयोजना गरिएको थियो । प्रदर्शनीमा विभिन्न कलेज, विद्यालय तथा संघसंसथाका ५० भन्दा बढी स्टल रहेका छन् ।











प्रतिक्रिया