भक्तपुर, (नेस)
मध्यपुर ठिमी नगरपालिका ३ मा पर्ने तेर्साटारस्थित तुलसीमार्गमा ढल निर्माणकार्यको शुभारम्भ भएको छ । वडाध्यक्ष प्रेमबहादुर कुटुले नरिवल फुटाएर बिहीबार ढल निर्माण कार्यको शुभारम्भ गर्नुभयो ।
तेर्साटारको मूल सडकमा ढल निर्माणकार्य यसअघि नै सकिएको तर यस तुलसीमार्गमा पानीको निकास नहुँदा यहाँका बासिन्दा २० औं वर्षदेखि हिलोमा हिँड्न बाध्य थिए । हुन त अझै यहाँको ढल मूल ढलमा जोडिने अवस्था छैन । तर पनि आकाशको पानी र घरबाट निस्केको पानीसम्म पठाउन मिल्ने गरी पाइप बिछ्याउने कार्यको शुभारम्भ भएको छ ।
मध्यपुर ठिमी नगरपालिकालाई नमुनाको रुपमा विकास गर्ने उद्देश्यअनुरुप आफूहरु अगाडि बढेको वडाध्यक्ष कुटुले बताउनुभयो । यसरी नै सबैको सहयोग भए मुख्य ढल निर्माण एवम् सडकको सुधार कार्य पनि चाँडै सम्पन्न गरी यस बस्तीलाई नमुना बस्ती बनाउने उहाँले आश्वासन दिनुभयो ।
तुलसीमार्ग ढल निर्माण उपभोक्ता समितिका अध्यक्ष नवराज दंगालको संयोजनमा निर्माण हुन लागेको यस ढल निर्माणको शुभारम्भमा टोल विकास अध्यक्ष मनोजचन्द्र कटुवाल, मध्यपुर ठिमी नगरपालिकाका इन्जिनियर विश्वजितलगायत स्थानीयवासीको उपस्थिति थियो । २० औं वर्षको प्रतीक्षापछि वडा कार्यालयको पहलमा कार्य शुभारम्भ भएकोमा स्थानीयवासीले हर्षित भई वडाध्यक्ष कुटुलगायतलाई खादा ओढाएर सम्मान गरेका थिए ।











प्रतिक्रिया